विराटनगर । पछिल्लो पाँच महिनामा जङ्गली जीवजन्तुको आक्रमणमा परेर ८३ जनाले ज्यान गुमाएका छन् । चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म देशैभर बाघ, हात्ती, गैँडा र सर्पको आक्रमणबाट ८३ जनाले ज्यान गुमाएका हुन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी सर्पको आक्रमणबाट ७० जनाले ज्यान गुमाएका छन् । यस्तै हात्तीको आक्रमणबाट ६ जनाले ज्यान गुमाउँदा गैँडाको आक्रमणबाट चार र बाघको आक्रमणबाट तीन जनाले ज्यान गुमाएका छन् ।
सोही अवधिमा पाँच सय ९९ जना घाइते भएका छन् । जसमा सबैभन्दा बढी सर्पको आक्रमणबाट ५३२ जना घाइते भएका छन् । यसैगरी बाघको आक्रमणबाट २४, भालुको आक्रमणबाट १५ तथा गैँडा र हात्तीको आक्रमणबाट १४-१४ जना घाइते भएका नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
घाइतेमध्ये दुई सय ५६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । जीव जनावरको आक्रमणमा परेकाहरूको उद्धारका लागि एक हजार आठ सय ३५ जना सुरक्षाकर्मी परिचालन भएका थिए ।