तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा टिकटक बनाउने क्रममा दुई जनाको मृत्यु भएको छ । स्थानीय गौखुरी माध्यमिक विद्यालयकी नर्स शिक्षिका र सोही विद्यालयमा अध्ययनरत छात्राको मृत्यु भएको हो ।
आज दिउँसो करिब साढे दुई बजे टिकटक बनाउने क्रममा खोरूङ्गाको हाइड्रोपावर खोलामा झरेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विराटनगर घर भएकी शिक्षिका अन्दाजी २५ वर्षीया रविना राजवंशी र मोराहाङ बजारकी अन्दाजी १३ वर्षीया सुस्मिता भट्टराईको घटनास्थलमै मृत्यु भएको मोराहाङ प्रहरी चौकीका असई नेत्र बाँस्तोलाले जानकारी दिए ।
सुस्मिता कमल भट्टराईकी एक्ली सन्तान रहेको बताइएको छ । खोरूङ्गा खोला हाइड्रोपावरका इन्चार्ज रबिन भट्टराईले टिकटक बनाउने क्रममा खसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
‘खोलाबाट शव निकालिसकेका छौँ’, बाँस्तोलाले संगालोखबरसँग भने, ‘आवश्यक प्रक्रिया पूरा गरेर पोष्टमार्टमका लागि भोलि जिल्ला अस्पताल पठाउँछौँ ।’ मृतक रविनाका आफन्तलाई पनि खबर गरिएको र उनीहरू आउँदै गरेको बाँस्तोलाले बताए ।