ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई कोचिङ पढाउन प्रति विद्यालय डेढ लाख रुपैयाँसम्म विनियोजन गरेको छ । अङ्ग्रेजी, गणित र विज्ञान विषयको कोचिङ पढाउन गाउँपालिकाले बजेट विनियोजन गरेको हो ।
माध्यमिक विद्यालयलाई एक लाख ५० हजार र निम्नमाध्यमिक विद्यालयमा लागि एक लाख रुपैयाँ दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिए ।
कक्षा ८ को परीक्षा केन्द्रीकृत गर्ने र ५ को परीक्षा टोलका विद्यालय मिलाएर गर्ने निर्णय भएको पनि अध्यक्ष लिम्बूले बताए । तीन विषयमा विद्यार्थीहरू कमजोर भएकाले कोचिङ कक्षाको अवधारणा ल्याइएको अध्यक्ष राईको भनाइ छ ।
गाउँपालिकाले शिक्षकहरूलाई त्रैमासिक रूपमा मात्रै तलबभत्ता खुवाउने निर्णय पनि गरेको छ । गाउँपालिकाले मङ्गलबार बोलाएको पालिकाभित्रका शिक्षकहरूको भेलामा अध्यक्ष लिम्बूले यस्तो निर्णय सुनाएका हुन् ।
गाउँपालिकामा कर्मचारी कम हुनका साथै भौगोलिक विकटताका कारण मासिक तलबभत्ता उपलब्ध गराउन असहज हुने अध्यक्ष लिम्बूको भनाइ छ । घुन्सा र ओलाङचुङगोलाका शिक्षकलाई पालिका आउँदा र जाँदा पाँच दिनसम्म लाग्ने हुँदा बालबालिकाको पढाइ प्रभावित हुने अध्यक्ष लिम्बूले उल्लेख गरे ।
पालिकामा ४० विद्यालय छन् । सरकारले शिक्षकलाई मासिक रूपमा तलब दिन देशभरका पालिकालाई यस अघिनै निर्देशन दिएको थियो ।
गाउँपालिकाले बोलाएको बैठक वा भेलामा बिना जानकारी अनुपस्थित हुने प्रधानाध्यापक तथा शिक्षकलाई लिखित स्पष्टिकरण सहित १५ सय रुपैयाँ जरिवाना गर्ने निर्णयपनि भेलाले गरेको लिम्बूले बताए ।