विराटनगर । सुनसरीको इटहरीमा हुने नेपाल जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । आज आयोजक समितिले पत्रकार सम्मेलन गर्दै पुस ६ गते महाधिवेशनको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने जानकारी दिएको हो ।
महाधिवेशन पुस ६, ७ र ८ गतेसम्म इटहरी-९ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा हुने छ । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको महाधिवेशन आयोजक समितिका निर्देशक दीपक ढकालले जानकारी दिए ।
महाधिवेशनमा देशैभरका एक सय ७८ शाखाबाट जेसीजका सदस्यहरू सहभागी हुनेछन् । महाधिवेशनले सन् २०२५ का लागि राष्ट्रिय अध्यक्षसहितका पदाधिकारीको चयन गर्नेछ । जसमा एक हजार दुई सय ४६ मतदाताले मताधिकार गर्नेछन् ।
कार्यक्रम तालिका अनुसार प्रकरण गोष्ठी, शान्ति पदयात्रा, वक्तृत्वकला, पूर्व अध्यक्षहरूको ब्याडमिन्टन प्रतियोगिता र नेपाल जेसीजको वार्षिक साधारणसभा हुनेछ । महाधिवेशनका लागि सुनसरीसहित मोरङका विभिन्न दुई सय वटा होटलको व्यवस्थापन गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।
कोशी प्रदेश सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष २०८२’ लाई महाधिवेशनले प्रबर्द्धन गर्ने विश्वास लिइएको छ । स्थानीय पर्यटन र व्यापार प्रवर्द्धनका लागि ५० वटा स्टल राख्ने तयारी समेत गरिएको छ ।
महाधिवेशन सम्पन्न गर्न करिब तीन करोड खर्च हुने अनुमान गरिएको छ । कोशी प्रदेश सरकार, इटहरी उपमहानगरपालिका र अन्य श्रोतमार्फत खर्च जुटाउने बताइएको छ । एक करोड बढी रकम जेसीज सदस्यबाट सहभागी शुल्क मार्फत उठ्ने जनाइएको छ ।