विराटनगर । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अमानवीय व्यवहार भइरहेको भन्दै भत्सना गरेका छन् । आज साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सांसद शर्माले लामिछानेलाई प्रहरी हिरासतमा राखिरहेर अमानवीय व्यवहार भइरहेको भन्दै त्यसको निन्दा एवं भर्त्सना गरेका हुन् ।
कुनै पनि व्यक्तिलाई अनुसन्धानको नाममा धरपकड गर्ने, बिरामी हुँदा पनि अस्पतालसम्म जान नदिने, उपचार पाउनु पर्ने नागरिकको हकमा बन्देज गर्ने, अनुसन्धानको नाममा मानसिक तनाव दिने र दुर्व्यवहार गरी मानव अधिकार उल्लङ्घन गर्ने काम निन्दनीय तथा खेदजनक रहेको उनको भनाई छ ।
लामिछानेलाई हिरासतमा राखिराख्ने श्रीङ्खलाले शङ्का उब्जाएको तर्क गर्दै सांसद शर्माले जतिसक्दो चाँडो अनुसन्धान प्रकृया टुङ्ग्याएर न्यायालयमार्फत न्यायिक निरूपण हुनु पर्ने धारणा राखेका छन् । ‘नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टीको गृहमन्त्री हुनु भएको अवस्थामा पनि तानाशाही तवरबाट रवि लामिछानेलाई गरिएको व्यवहारको भत्सना गर्दछु,’ सांसद शर्माले लेखेका छन्, ‘अनुसन्धानलाई जतिसक्दो चाँडो पुरा गरी न्यायालयमार्फत न्यायिक निरूपण हुनु पर्ने र न्यायालयको फैसलालाई सबैले सम्मान गर्नुपर्ने यथार्थमा नाटकीय ढङ्गबाट प्रहरी हिरासतको श्रृङ्खलाले सबैलाई सशङ्कित पारेको छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको पक्षमा आवाज उठाउँने शर्मा मोरङको क्षेत्र नं.३ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद हुन् । राज्यबाट पाउने तलब भत्ता नखाने एक्लो सांसद पनि हुन् उनी । उनले पार्टीभन्दा माथि उठेर विचार राख्दै आएका छन् ।
केही दिन अघि विराटनगरमा आयोजित काँग्रेसको कार्यक्रममा सांसद शर्माले केही वर्षअघिसम्म भुक्के चप्पल लगाएर हिड्ने नेताहरूको आर्थिक हैसियत अहिले कसरी कायपलट भयो भन्दै काँग्रेसकै नेताहरूको सम्पत्ति छानविन गर्नुपर्ने आवाज पनि उठाएका थिए ।