विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ स्नातक र स्नातकोत्तर तहको पढाइ सुरु गर्ने भएको छ । विश्वविद्यालयले विराटनगरमा कलेज स्थापना गरेर मङ्सिरदेखि स्नातकतर्फ बिबिए एलएलबी र स्नातकोत्तरतर्फ अपराध शास्त्रमा एलएलएमको पढाइ सुरु गर्न लागेको हो ।
स्नातकतर्फ नेपालमै पहिलो पटक बिबिए एलएलबीको पाठ्यक्रम निर्माण गरेर पढाइ सुरु गर्न लागेको विश्वविद्यालयका उपकुलपति डाक्टर सुवासश्री पोखरेलले जानकारी दिए ।
व्यवस्थापन विषयसँगै कानुनमा दक्ष जनशक्ति उत्पादन गर्न नयाँ नमुना कोर्ष निर्माण गरेर पठनपाठन सुरु गर्न लागिएको उनको भनाइ छ । पाँच वर्षको बिबिए एलएलबीको कोर्ष पुरा गर्न चार लाख ५० हजार लाग्ने जनाइएको छ ।