संगालोखबर

विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेशको सम्मेलन आगामी मंसिर २२ गते विराटनगरमा हुने भएको छ । प्रदेश सभापति उद्धव थापाको अध्यक्षतामा आज बसेको काँग्रेस प्रदेश समितिको पूर्ण बैठकले केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो ।

Advertisement

सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन तयारीका लागि क्रमशः महामन्त्री भूपेन्द्र राई, उमेश थापा र कोषाध्यक्ष राजेश गुप्तालाई जिम्मेवारी दिइएको प्रवक्ता यदुकुमार विष्टले जानकारी दिए । उनका अनुसार बैठकले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा काँग्रेस उम्मेदवारहरूलाई विजयी गराउन निर्वाचन परिचालनका लागि प्रतिनिधि खटाउने निर्णय पनि गरेको छ ।

त्यस्तै, नेपालकै होचो स्थान झापाको कचनाकवलदेखि संसारको अग्लो स्थान सगरमाथा रहेको सोलुखुम्बुसम्म ‘कचनाकवल-सगरमाथा जागरण अभियान’ सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

प्रदेश समितिले जागरण अभियानको आवश्यक तयारी र केन्द्रीय समितिद्वारा सञ्चालित सय दिने अभियानलाई सहयोग गर्न कोशी प्रदेशका ५६ प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने भएको छ । साथै जागरण अभियानको अवधारणापत्र र प्रतिनिधिहरूका लागि कार्यविधि तयार गर्न प्रवक्ता विष्टको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।

समितिको सदस्यमा उत्तमकुमार चौलागाईं, बाबुराम कोइराला (वासु), रञ्जिता कार्की र सदस्य सचिवमा नारायण कोइराला छन् । कोशी प्रदेशमा कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गरिरहेका महामन्त्री भूपेन्द्र राईले सरकारको कामकारबाहीको विषय बैठकमा जानकारी गराएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!