संगालोखबर


विराटनगर । नेकपा (माओवादी केन्द्र)का बरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले केपी ओली नेतृत्वको सरकारले एक सय दिनमा उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाएका छन् ।

पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका श्रेष्ठले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले सरकारले कुनै सकारात्मक काम गर्न नसकेको कारण समीक्षा गर्न मेहनत गर्नै नपर्ने उल्लेख गरे ।

Advertisement

‘दुईवटा प्रमुख दल मिलेर सरकार बनाउने कुराले सामान्य संसदीय पद्धति र परम्परालाई पनि पालना गरेको छैन’, उनले भने, ‘नेपालको सन्दर्भमा दुईवटा पार्टी मिलेर निरङ्कुशतातिर जाने सङ्केत भएको भनेर हामीले सुरुमै भनेका थियौँ । अहिले त्यही दिशातिर सरकार गइरहेको छ ।’

उनले आफूहरूले भ्रष्टाचार विरुद्ध अभियान चलाएको बताउँदै अहिलेको सरकारले त्यसलाई वेवास्ता गरेको टिप्पणी गरे । उनले अहिलेको सरकारले भ्रष्टाचारका दोषीलाई समेत सफाइ दिने काम भइरहेको बताए ।

बाढी पहिरो र डुबानमा परेकाहरूको खोज, उद्धार, राहत र पुनःस्थापनामा पनि सरकारले कुनै काम नगरेको उनको दाबी थियो । उनले अहिलेको सरकारले देश र जनताको पक्षमा सकारात्मक काम समेत गर्न नसकेको बताए ।

रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेको विषयमा सोधेको प्रश्नमा श्रेष्ठले छानविन र अनुसन्धान भेदभावपूर्ण भएको आशय व्यक्त गरे । ‘रवि लामिछाने पक्राउ पर्नु ठिक र बेठिक भन्ने कुरा होइन । राज्यले कसैलाई पनि विधि पुर्‍याएर अनुसन्धान गर्न सक्छ । हाम्रो कुरा अनुसन्धान स्वतन्त्र र निष्पक्ष होस् भन्ने हो । भेदभावपूर्ण हुनुहुँदैन’, श्रेष्ठले भने, ‘तर, अहिले सबैको टिप्पणी भेदभाव भइरहेको छ भन्ने देखिन्छ ।’

प्रत्यक्ष सहकारीको ठगीसँग सम्बन्धित भनेर आएको सत्तारुढ पार्टीकै नेताहरूलाई अनुसन्धान नगरिएको प्रति उनले आपत्ति जनाए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!