संगालोखबर


विराटनगर । अविरल वर्षाका कारण आएको बाढीपहिरोले कोशी प्रदेशमा चार अर्ब ६१ करोड ५० लाख बराबरको क्षति पुर्‍याएको  छ । आज भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले पत्रकार सम्मेलन गर्दै सडक तथा पुलमा बाढीपहिरोले उक्त रकम बराबरको क्षति पुर्‍याएको बताए ।

मन्त्री राईका अनुसार पाँचथरमा तीन वटा सडक पूर्ण रूपमा क्षति भएका छन् । दुई वटा सडक, सडक पुल चार वटा र तीन वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ । ताप्लेजुङमा एउटा सडक पुल र एउटा झोलुङ्गे पुलमा पूर्ण रूपले क्षति भएको मन्त्री राईले बताए ।

Advertisement

यस्तै सङ्खुवासभामा एउटा सडकमा आंशिक क्षति पुग्दा एउटा सडक पुल र एउटा झोलुङ्गे पुलमा पनि क्षति भएको छ । भोजपुरमा चार वटा सडकमध्ये एउटा आंशिक र एउटा पूर्ण रूपमा क्षति भएको मन्त्री राईले जानकारी दिए ।

ओखलढुङ्गामा आठ वटा सडक, तीन वटा सडक पुल र पाँच वटा झोलुङ्गे पुलमा बाढीले क्षति पुर्‍याएको छ । जसमध्ये तीन वटा सडक पूर्ण रूपमा क्षति भएका छन् । उदयपुरमा ११ वटा सडक मध्ये सात वटा आंशिक र एउटा पूर्णरूपमा क्षति भएको छ ।

खोटाङमा २७ वटा सडक, आठ वटा झोलुङ्गे पुलमा क्षति पुगेको मन्त्री राईले बताए । जसमध्ये १३ वटामा आंशिक र दुई वटा सडकमा पूर्ण क्षति पुगेको छ । यस्तै सुनसरीमा एउटा सडकमा आंशिक क्षति पुगेको छ ।

तेह्रथुममा एउटा सडकमा क्षति भएको छ भने सोलुखुम्बुमा दुईवटा सडक र दुईवटा सडक पुलमा क्षति पुगेको छ । मन्त्री राईका अनुसार कोशी मा ६० वटा सडकलाई तत्काल मर्मत गर्नुपर्ने अवस्था छ ।

यस्तै १५ वटा सडक पुल र १७ वटा झोलुङ्गेपुल पनि तत्काल मर्मत गर्नुपर्ने देखिएको मन्त्री राईले बताए । यसका लागि करिब एक अर्ब दुई करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको मन्त्री राईको भनाइ छ ।

सम्बन्धित जिल्लाको कार्यालय मार्फत आएको तथ्याङ्कका आधारमा यति रकम लाग्ने अनुमान गरिएको उनले बताए । मन्त्री राईले भने, ‘अहिलेसम्म आएको तथ्याङ्क अनुसार हाम्रो प्रदेशमा भएको सबै क्षतिलाई पूर्ववत् अवस्थामा ल्याउन चार अर्ब ६३ करोड ५० लाख खर्च लाग्ने अनुमान छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!