रबिन कटेल/संगालोखबर

विराटनगर । अविरल वर्षाका कारण केही दिन अघि आएको बाढी, पहिरोबाट भएको जनधन र भौतिक पूर्वाधारको क्षतिलाई तत्काल व्यवस्थापन गरेर आम नागरिकलाई सहज वातावरण बनाउन नेकपा एमाले कोशी प्रदेश कमिटीले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । एमाले कोशी प्रदेश इन्चार्ज एवं पूर्व मुख्यमन्त्री शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारीसहितको टोलीले आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउँदै विपद् व्यवस्थापनमा रफ्तार बढाउन आग्रह गरेका हुन् ।

Advertisement

विशेष विपद् प्राधिकरण गठन गरेर उद्धार, राहत, पुनर्स्थापना र पुननिर्माणको कामलाई गति दिन एमालेले प्रदेश सरकारलाई सुझाव दिएको छ । मृतकका परिवारलाई राहत, घाइतेहरूलाई निःशुल्क उपचार, बेपत्ता भएकाहरूको खोजी, विस्थापितहरुको पुर्नस्थापना र बालीनाली क्षति भएकाहरूलाई राहत सहयोग उपलब्ध गराउन एमालेको आग्रह छ ।

कोशी प्रदेशका धेरै ठाउँमा सडक र पुलहरुमा क्षति पुगेको छ । जसका कारण सवारी आवतजावत हुन नसक्दा समस्या भइरहेको छ ।

सडक तथा पुलहरू मर्मत गरेर वा वैकल्पिक उपाय लगाएर भएपनि दशैं अघि आवतजावत हुने वातावरण निर्माण गर्न एमाले प्रदेश इन्चार्ज राईले आग्रह गरे । ‘मैले धेरै ठाउँहरूमा स्थलगत रुपमा गएर पनि हेरे, कतिपय स्थानका पुलहरू सामान्य मर्मत गर्दा पनि आवतजावत हुने अवस्था देखिएको छ,’ राईले भने, ‘त्यस्तो अवस्थाका पुलहरुलाई मर्मत गरौँ, कम्तिमा दशैं अघि मानिसहरू आवतजावत गर्न सक्ने अवस्था बन्यो भने निकै सहज हुन्छ ।’

एमाले प्रदेश अध्यक्ष खतिवडाले संघ, प्रदेश र स्थानीय सरकारहरुबीच समन्वय गरेर विपद् व्यवस्थापनलाई जतिसक्दो चाँडो पुरा गरी आम नागरिकलाई सहज वातावरण निर्माण गर्नुपर्ने धारणा राखे । यसमा एमालेको तर्फबाट सक्दो सहयोग गर्ने उनको भनाई छ । एमालेले जिल्ला-जिल्लाबाट क्षतिको विवरण पनि सङ्कलन गरेको छ । सो विवरण पनि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले विपद् व्यवस्थापनलाई प्रदेश सरकारले प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिदैँ दशैं अघि धेरै सडक र पुलहरू पु्ननिर्माण गरेर वा वैकल्पिक उपाय लगाएर भएपनि आवतजावत गर्ने वातावरण मिलाइने उल्लेख गरे । यसका लागि तत्काल एक्सनमा उत्रन सम्बन्धित मन्त्रालयका मन्त्री तथा कर्मचारीहरूलाई मुख्यमन्त्री कार्कीले निर्देशन पनि दिएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!