संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका वडा नं.८ को वडा कार्यालय भवन उद्‌घाटन गरिएको छ । सान्ताङको स्वारिबा टोलमा ५४ लाखको लागतमा निर्माण गरिएको दुई कोठे भवन आज उद्‌घाटन गरिएको हो ।

Advertisement

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले वडा कार्यालय भवन उद्‌घाटन गरेका छन् । भवन उद्‌घाटन गर्दै नगर प्रमुख तामाङले वडा कार्यालय भवन बनेपछि प्रशासनिक काममा सहज हुने विश्वास व्यक्त गरे । यसअघि आफ्नै वडा कार्यालय भवन नहुँदा धनकुटा नगरपालिका-७ स्थित बसपार्कमा रहेको व्यापारिक भवनबाट ८ नं.वडा कार्यालयको सेवा प्रवाह गर्ने गरिएको थियो ।

८ नम्बर वडामा आठपहरिया जातिको बाहुल्यता छ । उनीहरूको आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानका लागि आफूले सक्दो भूमिका निर्वाह गर्ने मेयर तामाङले प्रतिवद्धता जनाएका छन् । आठपहरिया समुदायको हितका लागि फुसको छानारहित घर, दृष्टि बन्धक मुक्त कार्यक्रम, आठपहरिया सङ्ग्राहलय निर्माण, घरबास सेवा, लिफ्टिङ खानेपानी लगायत कार्यक्रमलाई निरन्तरता दिइएको मेयर तामाङले बताए ।

वडा कार्यालय भवन बनाउन स्वारिबाका राजबहादुर र उनकी श्रीमती रत्नमायाँ राईले एक रोपनी जग्गा दान गरेका छन् । उनीहरूलाई कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

यसैबीच, टेकुनालाको चैनपुरेमा सेवा केन्द्र पनि आजै उद्‌घाटन गरिएको छ । वडा कार्यालय भवन बनेको र सेवा केन्द्र पनि स्थापना गरिएकाले यसबाट वडावासीहरुलाई छिटो तथा सहज रुपमा सेवा प्रवाह गर्न सजिलो हुने वडाध्यक्ष रसबहादुर आठपहरिया बताउँछन् ।

योसँगै धनकुटा नगरका १० मध्ये ७ वटा वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह थालेका छन् । वडा नं.३, ७ र १० नम्बरको भवन निर्माण बाँकी रहेको नगरपालिकाले जनाएको छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!