मोहन ढकाल/संगालोखबर

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिकासँगको सहकार्यमा आजबाट राजमार्गमा सिटी सफारी सञ्चालनमा रोक लगाएको छ । यसको सफारी चालकले विरोध जनाएका छन् । कतिपयले समर्थन गरेका छन् भने कतिपयले विरोध जनाएको छन् ।

Advertisement

विराटनगर–६ का महम्मद अन्सारी सिटी सफारी चलाउँदै आएका छन् । कोशी राजमार्गमा सफारी चलाउन रोक लगाएको प्रति उनको आपत्ति छ । यो नियमका कारण सफारी चालकलाई धेरै समस्या पर्ने उनले बताए ।

उनले भने, ‘हामीले कर तिरेकै छौँ । बाहिरबाट आउने सिटी सफारीलाई कडाइ गरेको राम्रो हो । तर यसरी हाम्रो गरिखाने बाटो खोसिदिन भएन ।’ मुख्य राजमार्गबाट गन्तव्यमा जान नपाउँदा धेरै घुम्नुपर्ने र यात्रुले दिने भाडा पुरानै भएकाले समस्या पर्ने उनले बताए ।

जामुनगाछीका सञ्जयकुमार साह यो नियमका कारण आफूहरू समस्यामा परेको बताउँछन् । ‘हामी कमाएर कसरी खाने ?’ उनी प्रश्न गर्छन्, ‘जाने गन्तव्य विभिन्न ठाउँ हुन्छन् । घुमाएर पुर्‍याउनु पर्छ । कि भाडादर पनि वृद्धि गर्नुपर्छ । कि अन्य रोजगार दिनुपर्‍यो । कि त काम गरेर खान पाउने वातावरण बनाइदिनुपर्‍यो ।’ उनले नयाँ सफारी निकाल्न नदिनुपर्ने तर्क प्रस्तुत गरे । ‘दुर्घटना न्यूनीकरणका लागि ठिकै छ’, उनले भने, ‘नयाँ सफारी निकाल्न नदिने हो भने सबै ठिक हुन्छ ।’

बर्जु गाउँपालिका–१ शुक्रबारेका महेन्द्र यादव सफारी लिएर नियमित विराटनगर आउँछन् । राजमार्गमा सफारी सञ्चालनमा रोक लगाएको विषयमा उनको गुनासो छ । यस्तै अन्य पालिकाबाट विराटनगर प्रवेश गर्ने सफारीलाई नाकामा नै रोक्ने अर्थात फर्काउने विषयप्रति उनी दुःखेसो पोख्छन् ।

उनी भन्छन्, ‘हामी विराटनगर त आउनै पर्छ । नआए गुजारा कसरी चलाउने ? यो विषयमा सम्बन्धित निकायले सोच्न आवश्यक छ ।’ सुनसरीको बर्जू घर भएर विराटनगरमा बसोबास गर्दैै आएका पुष्पे थारूले यो नियमको समर्थन गरेका छन् । उनले आफूसमेत सफारीको लापरबाहीका कारण दुर्घटनामा परेको बताउँछन् ।

उनले यस विषयमा नियामक निकायले विचार गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘रोक लगाउनु एक किसिमले राम्रो हो । तर यो विषयमा सोच्नु पनि पर्दछ । उनीहरूको रोजिरोटीमा नै समस्या त पार्न भएन । सफारी चालक पनि सचेत भएर ट्राफिक नियमको पालना गर्न आवश्यक छ ।’

विराटनगर–५ का जनक राईले राजमार्गमा सफारी सञ्चालनमा रोक लगाएकोप् रति खुसी व्यक्त गरेका छन् । सफारी चालकको लापरबाहीका कारण दुर्घटनाको जोखिम बढेको बेला यो नियम लागू हुनु खुसीको कुरा भएको उनले बताए । उनले नियम लागू गरेर मात्र नहुने भएर यसको कार्यान्वयनमा पनि जोड दिनुपर्ने उल्लेख गरे ।

विराटनगर–५ का तुलाराम घिमिरे यो नियमको विषयमा खुलेर विरोध गर्छन् । ‘गरिबलाई मार्ने नियम ठिक छैन’, उनले भने, ‘केही दिनमा पुनः साइकल पनि रोक लगाउलान् । धनी शासकहरूका कारण गरिबलाई समस्या पार्न पाइँदैन ।’

ट्रक, टिपर जस्ता ठूला गाडीलाई दिउँसो चल्न नदिए दुर्घटना न्यूनीकरण सम्भव हुने उनले बताए । उनले ठूला गाडी राति चलाउने हो भने दुर्घटना आफैँ कम हुने उनी बताउँछन् ।

धनकुटा घर भइ विराटनगर बस्दै आएकी अमिता गिरी राजमार्गमा सफारीका लागि छुट्टै लेनको व्यवस्था गर्नुपर्ने बताउँछिन् । ‘दुर्घटना न्यूनीकरणका लागि यो ठिकै हो’, उनले भनिन्, ‘सफारीमा आवतजावत गर्नेलाई समस्या हुने भएकाले रोक लगाएर हैन, व्यवस्थापन गरेर अगाडि बढ्नुपर्ने देखिन्छ ।’

विराटनगर–५ की प्रतिमा साहको तर्क पनि उस्तै छ । सफारीका कारण आवतजावतमा सहज हुने भन्दै उनले रोक लगाएर समस्याको समाधान नहुने बताइन् । विराटनगर–३ का विनोद गौतम यो नियम लगाएर सफारी चालकलाई मर्कामा पार्ने काम भएको बताउँछन् । यो नियमले गरिबको दैनिकीसँग खेलवाड गरेको उल्लेख गरे । उनले सफारी लेन बनाएर यसको समाधान गर्नुपर्ने उनले बताए ।

विराटनगरमा बिहीबारदेखि राजमार्गमा सिटी सफारी चलाउन रोक

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!