संगालोखबर

विराटनगर । कोशी प्रदेश फुटबल संघले काठमाडौँमा भदौ १६ गते देखि हुने महिला राष्ट्रिय लिग प्रतियोगितामा सहभागी हुने कोशी प्रदेशको महिला टोलीलाई विदाई गरेको छ । आज संघले विराटनगरस्थित कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा टोलीलाई प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गर्दै विदाई गरेको हो।

Advertisement

मुख्यमन्त्री कार्कीले टोलीलाई विदाई गर्दै लिगमा कोशी प्रदेश महिला टोलीले प्रथम स्थान हासिल गर्दै प्रतियोगिता जितेमा प्रदेश सरकारको तर्फबाट थोरैमा पनि जनही १ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्दता व्यक्त गरेका थिए । मुख्यमन्त्री कार्कीले खेलाडीहरुले आर्थिक लगायत भविष्यमा चिन्तारहित किसिमले खेलक्षेत्रमा लाग्ने अवसर निर्माण गर्न कोशी प्रदेश सरकार लागिपर्ने बताए ।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले खेल क्षेत्रले कोशी प्रदेशको नाम उच्च राख्ने कुरामा दुईमत नभएको बताए । मन्त्री राईले खेलाडीहरुलाई कोशी प्रदेश सरकार र खेलकुद विकास बोर्डले सम्भव भएसम्म सहयोग गर्ने आश्वासन दिए ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले बोर्ड र प्रदेश सरकार खेलाडीलाई खेल क्षेत्रबाटै जीवन निर्वाह गर्न सक्ने माहोल निर्माण गर्न लागि परेको बताए ।

काठमाडौँमा हुने राष्ट्रिय महिला लिग प्रतियोगितामा कोशी प्रदेशसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीको गरी तीन विभागीय टोली, संकटा क्लब, चन्द्रपुर नगरपालिका, बागमती नगरपालिका, वालिङ क्लब, कर्णाली र सुदूरपश्चिम गरी १० वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!