खोटाङ । लामीडाँडा विमानस्थलमा २०७६ असार ३ गते समिट एयरको नाइन एन–एएम्जी विमान मार्फत परीक्षण उडान गरियो । त्यसपछि हालसम्म एउटा पनि उडान हुन सकेको छैन । खोटाङको सबैभन्दा पुरानो विमानस्थलका रूपमा रहेको उक्त विमानस्थल ६ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र भएको थियो । 

Advertisement

नियमित उडान गर्ने भनिएपनि कालोपत्रेपछि गरिएको परीक्षण उडानबाहेक अन्य उडान तथा अवतरण हुन सकेको छैन । तत्कालीन सांसद विशाल भट्टराईले उडान शुभारम्भका क्रममा लामीडाँडा विमानस्थलमा नियमित उडानका लागि प्राधिकरणसँग छलफल भइरहेको बताएका थिए । तर विमानस्थलमा परीक्षण उडान भरेपछि अहिलेसम्म एकपटक पनि विमान उडान तथा अवतरण भएको छैन ।

२०२८ देखि कच्ची अवस्थामा नियमित सञ्चालन हुँदै आएको विमानस्थलको टनिङ प्याडमा दायाँबायाँ २८–२८ मिटर कालोपत्र गरिएको गरिएको छ । पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको विमानस्थल कालोपत्र गर्ने जिम्मा वाइएनएस, एसएपी र सूर्य कन्ट्रक्सन प्रालिले पाएको थियो । 

स्थानीय बासिन्दाले कुटो तथा कोदालो प्रयोग गरेर २०२६ सालदेखि निर्माण सुरु गरेको विमानस्थल दुई वर्षपछि २०२८ सालबाट कच्ची अवस्थामै नियमित उडान सञ्चालनमा ल्याइएको थियो । 

४८ वर्षसम्म कच्ची अवस्थामा नियमित उडान हुँदै आएको विमानस्थलमा कालोपत्र गरिएसँगै भने नियमित उडान बन्द भएको छ । जसका कारण स्थानीय बासिन्दा समस्यामा परेका छन् । विमानस्थलमा उडान नभएपछि दुर्घटनाका घाइते तथा बिरामीलाई हेलिकप्टर चार्टर गरेर अन्यत्र उपचारमा लानुपर्ने बाध्यता उनीहरूमा आइपरेको छ । 

तीन जिल्लाका स्थानीय बासिन्दा तथा त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने भक्तजन एवं पर्यटकले सेवा लिँदै आएको विमानस्थलको उडान कटौती गरेर राज्यले आफूहरूमाथि ठूलो अन्याय गरेको रावाबेँसी गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए । नियमित उडान भराउन सम्बन्धित निकायमा पटकपटक अनुरोध गर्दा समेत कसैले चासो नदिएको उनको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!