- संगालोखबर संवाददाता

धनकुटा । सामान्यतया जिवित मानिस बस्नका लागि घर बनाईन्छ । तर, मृत्यु भएका ब्याक्तिको आत्मा बस्नका लागि भनेर धनकुटाको भेडेटार स्थित नाम्जे गाउँमा घर बनाईएको छ । सुन्दै अचम्म लाग्ने ‘आत्मा बस्ने घर’ करिव पाँच बर्ष अघि निर्माण गरिएको हो ।

नाम्जे स्थित ‘आत्मा बस्ने घर’ ।

नौलो किसिमको भएकै कारण उक्त घर हेर्नका लागि अहिले बिभिन्न स्थानबाट आन्तरीक तथा बाह्य पर्यटकहरु नाम्जे पुग्ने क्रम बढ्दै गएको छ । ‘आत्मा बस्ने घर’ हेर्नका लागि अहिले दैनिक करिव एक सय जना सम्म आन्तरीक तथा बाह्य पर्यटकहरु पुग्ने गरेको स्थानीय फाम कुमार थापाले बताए । उनका अनुसार तुलनात्मक रुपमा पछिल्लो समय पर्यटक आउँने क्रम बढ्दै गएको हो । ‘आत्मा बस्ने घर’ हेर्नका लागि पुर्बाञ्चलका बिभिन्न जिल्लाहरुसँगै भारतबाट पनि पर्यटकहरु नाम्जे पुग्ने गरेका छन ।

Advertisement
‘आत्मा बस्ने घर’ भित्रको दृष्य ।

अन्य दिनको तुलनामा बिदाको दिन आत्मा बस्ने घरमा पुग्ने पर्यटकको संख्या बढी हुने गर्छ । अनौठो किसिमको घर भएकाले प्रचार–प्रसारको क्रम बढ्दै जाँदा हेर्न आउँने पर्यटकको संख्या पनि बढ्दै गएको स्थानीयबासी बताउँछन । भेडेटार ६ र ७ नम्बर वडाका १ सय १३ मगर जातिको समाधिहरुलाई एकै ठाउँमा राखी मृत पुर्खाहरुको सम्मानमा २०६८ साल जेठमा ‘आत्मा बस्ने घर’ बनाईएको हो । हरेक जातजाति र धर्ममा आस्था राख्नेहरुलाई पुर्खाहरुको स्मरण गराउँने र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले ‘आत्मा बस्ने घर’ निर्माण गरिएको नाम्जेका स्थानीय टंक भुजेलले बताए । उनका अनुसार अमेरिकन नागरिकहरुको पहल र प्राबिधिक सहयोगमा उक्त घर निर्माण गरिएको हो ।

‘आत्मा बस्ने घर’ जाँने बाटोमा ढुंगाद्धारा बनाईएको गेट ।

‘आत्मा बस्ने घर’ मा ढुंगै–ढुंगाको पर्खालको बिचमा सिसाले छोपेर समाधिहरुलाई राखिएको छ । मानिसको मृत्यु पश्चात आत्मा स्वर्गमा पुग्छ भन्ने जनविश्वास रहेकाले शिशाको माध्यमबाट सवैमा महसुस गराउँने उद्धेश्यले सो घर निर्माण गरेको बताईन्छ । अन्तराष्ट्रिय सञ्चार सस्था सिएनएनले बिश्वको १२ औँ घुम्न लायक गन्तब्यको सुचिमा राखेको नाम्जे गाउँको उच्च भागमा ‘आत्मा बस्ने घर’ निर्माण गरिएको छ ।

आत्मा बस्ने घर’ जाँने बाटोमा वाँसको भाटाद्धारा बनाईएको गेट ।

‘आत्मा बस्ने घर’ जाँने बाटोमा ढुंगा र वाँसद्धारा दुई भिन्न भिन्न किसिमका गेट निर्माण गरिएको छ । बाँसका भाटाहरुलाई कलात्मक रुपमा मिलाएर वाँसको गेट बनाईएको छ भने अर्को स–साना ढुंगा मिलाएर नौलो किसिमको ढुंगाको गेट छ । फरक बिशेषता बोकेको नौलो ‘आत्मा बस्ने घर’ सहित अन्य पर्यटकीय स्थालहरु पनि प्रशस्त रहेकाले सो क्षेत्र पर्यटकको रोजाईमा पर्ने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!