संगालोखबर

विराटनगर । प्रदेशमा रोजगारी सिर्जना गर्न प्रदेश सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौँसँग समझदारी गरेको छ । आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कोष र प्रदेश सरकारबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

Advertisement

प्रदेशका विभिन्न जिल्लाका गरी १२ कक्षा उत्तीर्ण करिब एक हजारजना युवालाई तालिम दिई यसै वर्ष अनलाइन रोजगारी दिने प्रदेश सरकारको तयारी छ । यो समझदारीले सरकारको उक्त योजनालाई मद्दत पुग्ने जनाइएको छ ।

समझदारी पत्रमा कोशी प्रदेशमा विभिन्न उद्यमशीलता र रोजगारमूलक कार्यक्रम गर्ने उल्लेख गरिएको छ । समझदारी पत्रमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यालयका उपसचिव अर्जुनकुमार निरौलाले हस्ताक्षर गरेका छन् ।

यो समझदारीपछि कोशी प्रदेशका नागरिकमा उद्यमशीलताको विकास र रोजगार सिर्जना गर्न सहयोग पुग्ने जनाइएको छ । सर्वसुलभ कर्जा प्रवाह गर्न बैङ्क तथा वित्तीय संस्थालाई प्रोत्साहित गर्ने समझदारी पत्रमा उल्लेख्य छ । 

त्यस अवसरमा मुख्यमन्त्री कार्कीले समझदारीले प्रदेशमा रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । सरकारका प्रमुख सचिव केदारनाथ शर्माले यो समझदारीले नागरिकका अपेक्षा पूरा गर्न सहयोग गर्ने बताउँदै आगामी दिनमा प्रदेशमा नयाँ काम गर्न सहज हुने उल्लेख गरे ।

कोषका कार्यकारी अधिकृत घिमिरेले कोशी प्रदेशमा युवा रोजगार, घरेलु उद्योग विकास र उद्यमशीलता विस्तारलाई समझदारीले नयाँ ढोका खोलेको बताए । मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुबेदीले कोशी प्रदेशमा करिब एक हजार रोजगारी सिर्जना गर्ने गरी यो समझदारी गरिएको जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!