संगालोखबर

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माविरुद्ध मुद्दा नचल्ने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदन पाएपछि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने प्रक्रिया अघि बढाएको हो ।

Advertisement

सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने गरी महान्यायाधिवक्ताको कार्यालयमा फाइल पठाएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा संस्थानबाट पीसीएल गरेका डा.शर्माले फुल स्कलरसिपमा चिनबाट एमबीबीएस गरेका थिए । उनले नक्कली कागजात किर्ते गरेको नठहर्ने भएपछि वकिल कार्यालयले मुद्दा नचलाउने प्रकृया अघि बढाएको हो ।

तत्कालीन प्रचण्ड नेतृत्वको सरकारको कमजोरीमाथि खरो आवाज उठाउँदै आएका बेला सांसद शर्मालाई वर्षौ पुरानो विषयलाई लिएर २०८० साउन २५ गते पक्राउ गरिएको थियो । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न अनुमति नदिई रिहा गर्न आदेश दिएपछि पक्राउको भोलिपल्टै उनी छुटेका थिए । सांसद शर्मा पक्राउको विरोधमा सदनमा पनि आवाज उठेको थियो । तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूमाथि प्रतिशोध साँधेर फसाउँन खोजेको सांसद शर्माको बताउँदै आएका छन् । उनीमाथि नक्कली शैक्षिक प्रमाणपत्र र सरकारी छाप, कागजात कीर्तेको आरोप लगाइएको थियो ।

सांसद शर्माले एमबिबिएस पढ्दा पेस गरेका आईएससीको प्रमाणपत्र शङ्कास्पद रहेको भन्दै सीआईबीले अनुसन्धान गरेको थियो । यस्तै मुद्दामा सीआईबीले २०७३ सालमा पनि अनुसन्धान गरेर मुद्दा लगिसकेकाले हदम्याद नै नरहेको सरकारी वकिल कार्यालयको टिप्पणीमा उल्लेख छ । विदेशी विश्वविद्यालयले दिएको प्रमाणपत्र तथा छापलाई सरकारी छाप र कागजात किर्ते गरेको भनी दाबी गर्न नमिल्ने पनि सरकारी वकिल कार्यालयको ठहर छ । सीआईबीले विगतमा अप्रेसन क्वाक नाम दिएर पक्राउ गरेकाहरू पनि सबैले सफाइ पाएका थिए । अदालतले त्यतिबेला सफाइ दिँदै गरेका टिप्पणीलाई पनि सरकारी वकिल कार्यालयले आधार बनाएको छ ।

मोरङको क्षेत्र नं. ३ बाट भारी मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेस सांसद शर्मा विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौंको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजका सञ्चालक पनि हुन् । सामाजिक सेवाका क्षेत्रमा पनि सक्रिय डा.शर्मा जनतामाझ लोकप्रिय छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!