संगालोखबर

काठमाडौँ । बंगलादेशको राजधानी ढाकामा जारी हिंसात्मक प्रदर्शनबाट जोगिन नेपालीसहित भूटानी र भारतीय विद्यार्थीहरु भारतको मेघालय पुगेका छन् । ज्यान जोगाएर मेघालय पुगेका नेपाली, भूटानी र भारतीयको संख्या ३६० रहेको भारतीय समाचार संस्था पिटीआइले जनाएको छ । उनीहरु हिंसा प्रभावित बंगलादेशबाट लुकेर मेघालय पुगेका हुन् ।

Advertisement

उनीहरुले त्यहाँ पुगेर विभिन्न स्थानमा शरण लिएर बसेका छन् । यसरी त्यहाँ भेला हुनेको संख्या अहिलेसम्म ६७० पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् । गृह विभागका एक वरिष्ठ अधिकारीले शुक्रबार ३६३ जना डवकी एकीकृत जाँच चौकी हुँदै मेघालय पुगेको जानकारी दिएका छन् । तीमध्ये १५८ नेपाली, एकजना भुटानी र २०४ भारतीय छन् ।

बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यू घोषणा गरेको छ । बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ । बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूको आन्दोलन चलिरहेको हाे । आन्दोलनले हिंसात्मक रूप लिएको छ ।

यसैबीच, नेपाल सरकारले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा त्यहाँ रहेका नेपालीलाई ढाकास्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनिहरूका अभिभावक एवं आफन्तहरूले राजदूतावासका योजना बम्जन, द्वितीय सचिवलाई +८८०१८८०६९१०१३ र रिया क्षेत्रीलाई +८८०१७४५४०७९५८ नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सकिने जनाएको छ।मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्णरुपमा सचेत रहेको जनाएको छ ।

हालसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली राजदूतावास समेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको तथा उनीहरूको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको मन्त्रालयको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!