संगालोखबर

काठमाडौँ । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’ को उद्घाटन खेलमा नेपालले जित हासिल गरेको छ । नेपालले शुक्रबार सम्पन्न आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले हराएको हो ।

Advertisement

टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १६.१ ओभरमा केवल चार विकेट गुमाएर एक सय १८ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।

नेपाललाई महत्वपूर्ण जित दिलाउन बलिङतर्फ कप्तान इन्दू बर्मा र ब्याटिङतर्फ सम्झना खड्काले महत्वपूर्ण योगदान गरे । इन्दूले तीन विकेट लिइन् भने सम्झनाले उत्कृष्ट अर्धशतकीय पाली खेलिन् । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक प्रहार गर्ने क्रममा २४ वर्षीया सम्झनाले अविजित ७२ रन बनाइन् ।

ओपनरको भूमिकामा क्रिज समाल्न ओर्लिएकी सम्झनाले केवल ४५ बलको सामना गरी ११ वटा चौका प्रहार गरिन् । त्यसअघि उनले केवल ३५ बलमा अर्धशतक पुरा गरेकी थिइन् । अर्धशतक पुरा गर्ने क्रममा उनले आठ चौका पनि प्रहार गरेकी थिइन् ।

सम्झनाका लागि यो १७ औँ टी–२० अन्तर्राष्ट्रिय खेल हो । अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि उनको उच्च स्कोर अविजित ३६ रन थियो । यूएईविरुद्धको खेलमा सम्झनाको स्ट्राइक रेट १६० रह्यो । नेपालका लागि पूर्वकप्तान रुविना क्षेत्रीले पनि १० रनको योगदान गरिन् ।

पूजा महतो सात रनमा अविजित रहिन् । ओपनर सीता रानामगरले पनि सात रन बनाइन् । कप्तान इन्दू ६ रनमा पेभेलियन फर्किएकी थिइन् । नेपालले अतिरिक्त रुपमा १४ रन पाएको थियो । यूएईकी बलर कविसा एगोडेगले तीन र लावन्या केनीले एक विकेट लिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!