संगालोखबर

विराटनगर । सामुदायिक विद्यालयकोे गुणस्तर बढाउन विराटनगर महानगरपालिकाले अनुगमन सुरु गरेको छ । शिक्षा समितिबाट गठित अनुगमन समितिले विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयहरूको अनुगमन सुरु गरेको हो ।

Advertisement

बुधबार र बिहीबार दुई दिनमा टोलीले विराट महेन्द्र रात्रि मावि, जनता नमुना मावि, सत्यनारायण आधारभूत विद्यालय, विराट आधारभूत विद्यालय, दिघी आधारभूत विद्यालय र जनता आधारभूत विद्यालय खोक्साहा गरी ६ वटा विद्यालयको अनुगमन गरेको थियो ।

समितिले टोलीलाई समग्र सामुदायिक विद्यालयको भौतिक अवस्था तथा शैक्षिक गुणस्तरका बारेमा अध्ययन विश्लेषण गर्ने, विद्यालय सुधारका उपाय पहिल्याउने, सिकाई उपलब्धि बढाउनका लागि आवश्यकताका आधारमा विज्ञसमेत परिचालन गर्नेलगायतका कार्यादेश दिएको छ । अनुगमनका क्रममा टोलीले सञ्चालन भइरहेको प्रथम त्रैमासिक परीक्षाको समेत अनुगमन गरेको थियो ।

यस क्रममा टोलीले भर्ना भएका विद्यार्थी संख्या र परीक्षा दिने विद्यार्थी संख्याको विश्लेषण, पठनसीप क्षमताको परीक्षण पनि गरेको थियो । विद्यालय सञ्चालन व्यवस्थापनमा देखिएका समस्याका विषयमा प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र विद्यार्थीसित छलफलसमेत गरेको अनुगमन समितिका सदस्यसचिव कृष्ण भट्टराईले जानकारी दिए ।

अनुगमनका क्रममा पठनपाठनमा लापरबाही गरेको भेटिएमा कारबाही गर्नेसम्मको अधिकार अनुगमन टोलीलाई दिएको मेयर तथा शिक्षा समिति अध्यक्ष नागेब कोइरालाले बताए । शिक्षा समितिका सदस्य रमानाथ भट्टराईको संयोजकत्वको टोलीमा शिक्षा समितिका सदस्य त्रिलोक न्यौपाने, सावित्री पराजुली, सन्तोष पोखरेल र सदस्यसचिव कृष्ण भट्टराई छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!