संगालोखबर

विराटनगर । भिजिट भिसामा एकजना महिलालाई कुवेत पुर्याएर शोषण गरेको आरोपमा प्रहरीले मोरङको रंगेली नगरपालिका–३ का ५७ वर्षीय झयन्द्रबहादुर अधिकारीलाई पक्राउ गरेको छ ।

Advertisement

मानव बेचबिखन गरेको आरोपमा उनलाई हिजो मानव बेचबिखन नियन्त्रण ब्युरो काठमाडौँको टोलीले ललितपुर महानगरपालिका–२४ मा पक्राउ गरेको हो ।

ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार उनले एक महिलालाई दुबईको कम्पनीमा काम लगाइदिने भन्दै भिजिट भिसामा लगेका थिए । त्यहाँ रहेका अर्का व्यक्तिसँग मिलेमतो गरी मासिक ४० हजार तलब हुने रोजगारी दिलाइदिने भन्दै महिलाको अन्तर्वार्ता लिएका थिए ।

रोजगारी मिलाउनेलगायत खर्च भन्दै अधिकारीले महिलाबाट दुई लाख नगद लिएका थिए । अधिकारीले सुरुमा भिजिट भिसामा महिलालाई २०७९ जेठ १६ गते दुबई पुर्याएका थिए । दुबईमा पुगेपछि अर्का व्यक्तिको जिम्मा लगाएका थिए । मिश्रका अनुसार ती व्यक्तिले आफू बस्ने फ्ल्याटमा महिलालाई राखेका थिए ।

उनले ती महिलालाई घरेलु काममा लगाएर चरम यौन शोषण गरी गर्भपतन समेत गराएको खुलेको मिश्रको भनाइ छ । त्यसपछि ती व्यक्तिले दुबईमा भन्दा कुवेतमा राम्रो तलब हुन्छ, अफिस क्लिनर हो भन्दै २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्याएर अर्का एजेन्टको जिम्मा लगाएको खुलेको छ ।

त्यहाँ पुगेपछि ती एजेन्टले बन्धक बनाएर चरम यौन शोषण गरेको पाइएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । ती महिलाले आफूलाई नेपाल फर्काइदिन अनुरोध गरेकी थिइन् ।

त्यसका लागि उनीसँग ६ लाख ७५ हजार रुपैयाँ मागिएको थियो । आफन्तबाट झिकाएर उनले उक्त रकम तिरेपछि ती एजेन्टले मुक्त गरिदिएका थिए ।

ती महिला २०८० मङ्सिर ३ गते नेपाल फर्केर ब्युरोमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि अधिकारीलाई खोजी गरिरहेको प्रहरीले हिजो पक्राउ गरी अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!