संगालोखबर

विराटनगर । उच्च जोखिमको सूचना (रेड एड्भाइजरी) जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी साधन चलाउन नपाइने भएको छ । गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा आज बसेको बैठकले उक्त निर्णय गरको हो ।

Advertisement

जल तथा मौसम विज्ञान विभागबाट ‘रेड एड्भाइजरी’ जारी भएका जिल्ला र क्षेत्रहरूमा तत्तत् दिनमा रात्रिकालीन सवारी नचलाउने निर्णय भएको छ । यसको कार्यतालिका यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले जानकारी दिए ।

यो निर्णयसँगै बाढी–पहिरो आउनसक्ने सम्भावनाको सूचना जारी भएको राति सवारी साधन चलाउन पाइने छैन । यसअघि सुरुमा गृहले वर्षायामभरि रात्रिकालीन सवारी नचलाउने प्रस्ताव गरेको थियो । तर यातायात व्यवसायीले उक्त कुरा वैज्ञानिक नभएको बताएका थिए । त्यसैगरी, अबदेखि लामो तथा मध्यम दूरीमा यात्रा गर्दा टिकट अनिवार्य गरिएको छ । पहिरो जाने तथा डुबान हुने सम्भावना देखिएका जोखिमयुक्त क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका संकेत चिह्नहरू राख्ने निर्णयसमेत भएको जनाइएको छ ।

सवारी साधन जाममा परेको स्थानमा हुने कालोबजारी र चोरीजस्ता विषय नियन्त्रणका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले कडा निगरानी, अनुगमन र कालोबजारी ऐनअन्तर्गत तत्काल कारबाही गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । कान्ति लोकपथ लगायतका ठूला सवारी साधन चल्न अनुमति नदिइएका अन्य मार्गहरूमा पटकपटक पटके परमिट काटी ठूला बस ट्रक लगायतका सवारी साधन चल्न दिने व्यवस्था तत्काल बन्द गर्ने पनि निर्णय भएको जनाइएको छ ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो । दुवै बसको अवस्था पत्ता लागेको छैन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!