खोटाङ । कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपास्थित यलम्बर रङ्गशालामा सम्पन्न फाइनल खेलमा झापाले भोजपुरलाई १-० गोलले पराजित गर्दै उपाधि जितेको हो ।

Advertisement

झापाका लागि जेनिफर रानामगरले पहिलो हाफको १५औँ मिनेटमा निर्णायक गोल गरिन् । उपाधिसँगै झापाले नगद दुई लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता भोजपुरले एक लाख पुरस्कार प्राप्त गर्यो । प्रतियोगिताभर नौ गोल गरेकी झापाकी जेनिफरले उत्कृष्ट खेलाडी भइन् । सेमिफाइनल खेलमा ताप्लेजुङविरुद्ध ६ गोल गरेकी उनले पाँच हजार प्राप्त गरिन् ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक झापाकी जसोदा राई, उत्कृष्ट डिफेन्डर भोजपुरकी कमला श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर झापाकी सिम्रन राई, उत्कृष्ट फरवार्ड भोजपुरकी आरती भुजेल र उदीयमान खेलाडी खोटाङकी रिया राई घोषित भए । उनीहरुले जनही तीन हजार पुरस्कार प्राप्त गरे ।

विजेता खेलाडीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईलगायतले पुरस्कार प्रदान गरे । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको २० लाख सहयोगमा प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!