संगालोखबर

सुनसरी । अविरल वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । सुनसरी र सप्तरीको सीमामा बनाइएको कोशी ब्यारेजमा पछिल्लो पटक केही बेरअघि गरिएको मापनमा पानीको बहाव २ लाख ५५ हजार क्युसेक छ ।

Advertisement

पानीलाई निकास दिन ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खुला गरिएको छ । आवश्यकताअनुसार थप ढोका खोलेर पानीलाई निकास दिइने जनाइएको छ । कोशी ब्यारेज नियन्त्रण कक्षले दिएको जानकारी अनुसार नदीमा पानीको बहाव बढ्ने क्रम जारी छ । वर्षा निरन्तर भइरहेकाले पानीको बहाव पनि बढ्ने क्रममा रहेको हो । उक्त परिमाणको पानीको बहावलाई नियन्त्रण कक्षले सामान्यभन्दा माथिल्लो स्तरको भनेको छ । ‘डेन्जर’ भनिने उक्त अवस्था ब्यारेजका लागि जोखिमपूर्ण मानिन्छ ।

त्यसअघि गरिएको मापनमा कोशी ब्यारेज भएर २ लाख ४४ हजार ३५ क्युसेक पानीको बहाव थियो । यसैगरी मध्याह्न गरिएको मापनमा १ लाख ४० हजार क्युसेक पानीको बहाव थियो । त्यसयता पानी बढ्ने क्रम तीव्र भएको नियन्त्रण कक्षले जनाएको छ ।

केही दिनयता निरन्तर वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्ने घट्ने क्रम जारी रहँदा तटीय क्षेत्रमा सतर्कता अपनाउन सुनसरी प्रशासनले आग्रह गर्दै आएको छ । सीमावर्ती मधेश प्रदेशको जिल्ला सप्तरीतर्फ पनि सतर्कता अपनाउन भनिएको छ ।

कोशीको बाढीबाट हुने सम्भावित क्षति कम गर्न केही दिनअघि दुवै जिल्लाका प्रशासन कार्यालय, प्रहरीलगायत निकायको बैठक बसी सबै निकाय सतर्क अवस्थामा रहेको जनाइएको थियो । त्यस क्रममा पूर्वतयारीका साथै सावधानी अपनाउनेबारे छलफल गरिएको थियो । पानीको बहाव बढेसँगै सुनसरी प्रशासनले कोशी नदीमा डुंगा चलाउन र माछा मार्न गत सातादेखि नै रोक लगाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बाढीसँगै कोशीमा पानीको बहाव बढ्ने घट्ने भइरहेकाले जोखिम हुने अवस्थामा डुंगा चलाउन र माछा मार्न रोक लगाइएको बताए ।

सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै सतर्कता अपनाउन आग्रह

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!