संगालोखबर

विराटनगर । विद्यार्थीहरुलाई सैद्धान्तिकमात्र होइन व्यावहारिक ज्ञान पनि दिनुपर्छ भन्ने उद्देश्यले विराटनगर महानगरपालिका–३ वडा कार्यालयले माध्यमिक विद्यालयस्तरका विद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ ।

Advertisement

सैद्धान्तिक तथा प्रमाणपत्रीय ज्ञानको होडबाजी चलिरहेको समयमा विद्यार्थीहरूलाई उनीहरूले बिताउनुपर्ने वास्तविक जीवन बोध गराउनका लागि प्रशिक्षण आयोजना गरिएको हो । सैद्धान्तिक तथा व्यावहारिक ज्ञानका साथै ज्ञान आर्जन गर्न र आर्जन गरेको ज्ञानको सफल प्रयोग गर्न अनुशासनको त्यति नै महत्व हुन्छ भन्ने विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

मुलुकलाई चाहिने सफल नागरिक उत्पादनमा ज्ञान र अनुशासनको पारस्परिक सम्बन्ध रहेको जानकारी गराउँदै कर्तव्यपरायण नागरिकको जिम्मेवारी र भूमिका बोध गराउने उद्देश्यले माध्यमिक विद्यालय स्तरका ६० जना विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको हो । ‘ज्ञान र अनुशासनः भोलिको सफल जीवन’ विषयक प्रशिक्षण कार्यशालाका रुपमा सञ्चालन गरिएको थियो ।

परोपकार अभियान समूहको हलमा सञ्चालन गरिएको कार्यक्रम विराटनगर महानगरपालिका वडा ३ की सदस्य मालिका निरौलाको संयोजकत्वमा भएको थियो । उनले यस्ता प्रशिक्षणबाट विद्यार्थीहरूमा सकारात्मक सोचको विकास हुने आफूले विश्वास लिएको बताइन् ।

जनप्रतिनिधिहरू ढुण्डीराज पोखरेल, सुरज न्यौपाने र अरुणा परियारलगायतको समेत सहभागिता रहेको कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक दिनेशराज सुवेदीले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए भने वडा सचिव हरिप्रसाद गुरागाईंले सहजीकरण गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!