धनकुटा । धनकुटामा सञ्चालित भलिवल उत्सवको उपाधि पुरुषतर्फ चौविसे गाउँपालिका र महिलातर्फ साँगुरीगढी गाउँपालिकाले जितेको छ । टुँडिखेलमा शनिवार भएको फाइनल खेलमा पुरुषतर्फ पाख्रीवास नगरपालिकालाई पराजित गर्दै चौबिसे गाउँपालिकाले उपाधि जितेको हो भने महिलातर्फ सहिदभूमि गाउँपालिकालाई हराउँदै साँगुरीगढी गाउँपालिकाले उपाधि चुमेको हो ।
पुरुषतर्फ चौविसेले पाख्रीवासलाई २५–२०, २५–२०, २५–२१ र २५–२१ को सेटले पराजित गरेको छ । महिलातर्फ सहिदभूमिलाई २५–२१, २५–२२ र २५–१४ को सोझो सेटमा पराजित गर्दै साँगुरीगढीले उपाधि जितेको हो । उपाधिसँगै चौबिसे र साँगुरीगढीले नगद ५०/५० हजार पाएको छ भने उपविजेता पाख्रीवास र सहिदभूमिले ३०/३० हजारमा चित्त बुझाएको छ ।
विजेता टिम र खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राई, कोशी भलिवल संघका अध्यक्ष खेम राई, जिल्ला भलिवल संघका अध्यक्ष गौरव कार्की लगायतले पुरस्कार प्रदान गरेका छन् ।
जिल्ला भलिवल संघको आयोजनामा १५ दिनसम्म सञ्चालन भएको भलिवल उत्सवमा वडा स्तरीय पुरुष भलिबलतर्फ २० टिम र पालिका स्तरीय महिला भलिबलतर्फ ६ टिमवीच उपाधिका लागि प्रतिष्प्रधा भएको थियो ।
भलिवल उत्सवसँगै रमाइलो मेला पनि आयोजना गरेर हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रम गरिएको थियो । उत्सवमा दौड र संख बजाउने प्रतियोगिता पनि गरिएको छ ।