संगालोखबर

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राख्ने नीति बनाई त्यसै अनुसारका कार्यक्रम कार्यान्वयन गर्ने बताएका छन् । मोरङको कटहरी गाउँपालिकामा आज आयोजित ‘किसानसँग कृषिमन्त्री’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

जीवनको आधार नै कृषि भएकोले कृषिलाई आधुनिक र उन्नत प्रविधिमा रुपान्तरण गर्न सरकारले ध्यान दिने उनले बताए । यस क्षेत्रमा सञ्चालित अधिकांश उद्योगहरु कृषिमा आधारित रहेकोले पनि सरकारले कृषि उत्पादन र त्यसको बजारीकरणमा विशेष ध्यान दिने मुख्यमन्त्री कार्कीले उल्लेख गरे ।

पछिल्लो समय प्रदेशमा मासुजन्य वस्तुको उत्पादन बढेको भएपनि दाना उत्पादन बढ्न नसकेकाले दाना उत्पादन बढाउन आवश्यक बाली लगाउन र उद्योग स्थापना गर्ने योजना बनाउन मन्त्रालयलाई निर्देशन पनि दिए ।

चाहिएको बेलामा सुनसरी मोरङ सिंचाइ आयोजनाले नहरमा पानी नछोड्दा उत्पादनमा असर गरेको भन्दै किसानहरुले नहरमा पानी छोड्ने तालिका किसानहरुको आवश्यकताका आधारमा बनाइदिन मुख्यमन्त्रीलाई आग्रह गरेका थिए । त्यसका लागि पहल गर्ने मुख्यमन्त्रीले आश्वासन दिए ।

कटहरीका तरकारी उत्पादक किसान कोपिन्द्र सिंहले आगामी वर्षको बजेटमा सरकारले कृषि सामग्री, बिउबिजन र बिषादीमा मूल्य अभिवृद्धि कर लगाउँदा किसानलाई असर पर्न सक्ने चिन्ता व्यक्त गरेका थिए । कृषि उत्पादनमा विगतमा जस्तो भ्याट लगाउन नहुने भन्दै किसानलाई निःशुल्क विद्युत उपलब्ध गराउनु पर्ने उनले बताए ।

कटहरी तरकारी जोनका अध्यक्ष शिवनाथ सिंहले तरकारी उत्पादक किसानलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग आग्रह गरे । किसानको खेतबाट बजारसम्म उत्पादन ढुवानी गर्न बाटोघाटो र पूर्वाधारहरु चुस्त नहुँदा लागत बढेको भन्दै उनले सरकारले त्यसमा ध्यान नदिएको गुनासो गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!