संगालोखबर

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले सिसाको बोतलमा आउने बियरलगायत मदिरा, कोकाकोला र फेन्टा जस्ता चिसो पेयका साथै चुरोट, खैनी र गुट्का बिक्रीमा प्रतिबन्ध लगाएको छ । गाउँपालिका कार्यालयले सार्वजनिक सूचना जारी गर्दै त्यस्ता वस्तु आयात र बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको हो ।

Advertisement

गाउँपालिकाका अध्यक्ष मेजर राईको अध्यक्षतामा असार १८ गते कसेको कार्यपालिकाको १८औं बियर, रक्सी, सबै खालका चियो पेय, खैनी, चुरोट र गुट्खाजस्ता वस्तुको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत योगन्द्रराज गुरुङले जानकारी दिए । आयात भइसकेको अवस्थामा भने असोज १५ गतेभित्र बिक्री गरिसक्न भनिएको उनले जनाए ।

‘यो निर्णय गर्नुअघि हामीले साना–ठूला सबै व्यवसायीसँग छलफल गरेका थियौं’ गुरुङले संगालोखबरसँग भने, ‘उहाँहरुले पनि यसमा सहमति जनाउनुभएको छ, राम्रो कुरा भनेर स्वागत गर्नुभएको छ ।’

छलफलका क्रममा कतिपय व्यवसायीहरुले कुनै पार्टी आयोजना हुँदा एकैपटकमा लाखौं रकम बराबरका त्यस्ता सामग्री प्रयोग हुने गरेको जानकारी दिएका थिए । बाहिरबाट आउने त्यस्ता वस्तुमा धेरै खर्च गर्नुभन्दा स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्नेमा उनीहरुले जोड दिएको गुरुङले बताए । बाहिरका त्यस्ता वस्तुभन्दा स्थानीय उत्पादन, दुध, दही, मोही र स्थानीयस्तरमा उत्पादिन मदिरा प्रयोग गर्न सकिने धारणा पनि अधिकांशले राखेका थिए ।

गुरुङका अनुसार निर्णय भएको छ र अब कार्यविधि बनाउने तयारी भइरहेको छ । भदौसम्ममा कार्यविधि बनाएर त्यसपछि फेरि व्यवसायीहरुसँग बसेर छलफल गरिने उनले जानकारी दिए । जनप्रतिनिधिहरु सबै यस कुरामा सकारात्मक रहेको उल्लेख गर्दै गुरुङले सबै क्षेत्रको प्रतिबद्धताका साथ निर्णय लागू गर्न लागिएको बताए ।

त्यस्ता वस्तु सेवनले स्वास्थ्यमा गम्भीर असर पार्ने, स्थानीय अर्थतन्त्रलाई कमजोर बनाउने, महिला तथा घरेलु हिंसाका घटना बढाउने र गाउँलाई विघटन बनाउन प्रत्यक्ष असर पार्ने निष्कर्ष निकालेको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रमुख प्रशासकीय अधिकृत गुरुङद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ– ‘गाउँपालिकाभित्र अन्यत्रबाट आयात गरिने सिसाजन्य मदिरा तथा अन्य पेय पदार्थहरू (बियर, रक्सी, डिउ, कोक, फेन्टा, रेडबुल, सुर्ती तथा सुर्तीजन्य चुरोट, गुट्खा) को सेवनले लिम्चुङबुङवासीको स्वास्थ्यमा गम्भीर असर पारी रोगी बनाउने, स्थानीय अर्थतन्त्रलाई कमजोर बनाउने, महिला तथा घरेलु हिंसा उत्पन्न गर्ने तथा गाउँलाई विघटन बनाउन प्रत्यक्ष असर पार्ने भएको हुँदा लिम्चुङबुङवासीहरुलाई रोगबाट बचाउन, आर्थिक सुधार गर्न, विघटनोन्मुख गाउँलाई बचाउन, महिला तथा घरेलु हिंसाबाट उन्मुक्ति दिन आदिको निम्ति मिति २०८१–३–१८ गतेदेखि आयातमा पूर्ण रुपमा प्रतिबन्ध र हालसम्म आयात गरिसकेको सामानहरूलाई २०८१ सालको असोज १५ गतेभित्र बिक्री वितरण गरिसक्नु पर्नेछ ।’

रक्सी सेवनबाट वर्षमा २६ लाख मानिसको मृत्युः डब्लुएचओ

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!