संगालोखबर

विराटनगर । उद्योग संगठन मोरङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विद्यमान गुणस्तर प्रमाणीकरण मापदण्डहरुका आधारमा स्थानीय उद्योग व्यवसाय सुहाउँदो ‘क्यूसेफ’ गुणस्तर प्रणाली सुरु गरेको छ ।

Advertisement

गत साता सम्पन्न उद्योग संगठनको ५१औं वार्षिक साधारण सभा उद्घाटन अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले क्युसेफको लोगो अनावरण गरेका थिए । क्युसेफलाई स्वतन्त्र मानक प्रमाणीकरणको रुपमा स्थापित गर्न तथा प्राविधिक रुपमा यसलाई कार्यान्वयनमा ल्याउन संगठनले राष्ट्रिय प्रमाणिकरण तथा व्यवस्थापन प्रा.लि. सँग सहकार्य गरेको जनाएको छ ।

संगठनका अध्यक्ष राकेश सुराना र नेशनल सर्टिफिकेशन एण्ड म्यानेजमेन्ट प्रा.लि.का अध्यक्ष जर्नादन घिमिरेले उक्त प्रणाली कार्यान्वयनमा ल्याउन एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

गुणस्तर मापदण्डका असल अभ्यासहरुलाई प्रवर्द्धन गर्न स्थानीय उद्योग व्यवसायको स्थानीय परिवेशमा असल उत्पादनको ‘बेञ्चमार्क’ तयार गर्ने र सोअनुरुप पालनाका लागि क्षमता अभिवृद्धि गर्ने उद्देश्ले संगठनले क्युसेफ गुणस्तर मापदण्ड प्रणालीको शुरुवात गरेको अध्यक्ष सुरानाले बताए ।

संगठनको असल उत्पादनका अभ्यास प्रवर्द्धन समितिका संयोजक वीरेन्द्र राठीले यो प्रणालीले स्थानीय उद्योगले अपनाएको कार्यप्रणाली, सामाजिक, वातावरणीय, कामदारको कल्याण, स्वास्थ्य, सुरक्षासम्बन्धी स्थापित मान्यताहरुका आधारमा स्वतन्त्र एवं प्रमाणित अडिटरहरुले अडिट गरेपछि प्रमाणीकरण गरी प्रमाणपत्र प्रदान गर्ने बताए ।

नेशनल सर्टिफिकेशन एण्ड म्यानेजमेन्ट प्रा.लि.का अध्यक्ष जर्नादन घिमिरेले क्यूसेफ मापदण्ड आई.एस.ओ ९००१, १४००१, ४५००१, २२००० र ह्यास्याप लगायतका ४ वटा छुट्टाछुट्टै गुणस्तर मानक मापदण्ड प्रणालीको आधार तयार गर्ने एउटा समग्र गुणस्तरको प्याकेज भएको बताउँदै क्यूसेफ प्रमाणीकरण भएका जुनसुकै उद्योग प्रतिष्ठानले उक्त ४ वटा अन्तर्राष्ट्रिय मापदण्डका लागि तत्काल आवेदन दिई प्राप्त गर्न सक्ने बताए ।

क्युसेफ मापदण्ड प्रमाणी साना, मझौला, ठूला सबै प्रकारका उद्योग प्रतिष्ठानहरुले प्रयोग गर्न सक्ने र यस प्रणालीले उत्पादन प्रक्रिया, वस्तुको गुणस्तरमा सुधार, कार्यस्थल व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, वातावरण तथा सामाजिक प्रतिष्ठामा अभिवृद्धि गर्ने जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!