संगालोखबर

विराटनगर । नेपाल पत्रकार महासंघका पछिल्ला गतिविधिप्रति आफूहरूको ध्यानाकर्षण भएको पूर्वनेतृत्वकर्ताहरूले बताएका छन् । महासंघको शाख र मर्यादा कायम गर्न आवश्यक परे सहजीकरण गर्न पनि आफूहरू पछि नपर्ने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका हुन् ।

Advertisement

नेपाल पत्रकार महासंघका पूर्वसभापति एवं पूर्वअध्यक्ष किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँले आइतबार ४ बुँदे वक्तव्य जारी गर्दै नेपाली पत्रकारहरूको साझा र भरोसायोग्य संस्था नेपाल पत्रकार महासंघभित्र पछिल्लो केही दिनयताका काम–कारबाही र गतिविधिप्रति गम्भीर चिन्ता, चासो र सरोकार जागेको बताएका हुन् ।

‘लोकतन्त्रको जगेर्ना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको हितमा विभिन्न कालखण्डमा महत्त्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्दै आएको नेपालको अगुवा नागरिक संस्थासमेत रहेको महासंघको केन्द्रीय कार्यालय र जिल्ला तथा प्रदेश कार्यालयमा तालाबन्दी र हुलहुज्जत हुनुलाई हामी दुर्भाग्यपूर्ण र आपत्तिजनक कार्य मान्दछौं,’ जारी वक्तव्यमा भनिएको छ ।

महासंघको निर्वाचनका सन्दर्भमा देखिएको सदस्यता लगायत विवाद समाधान महासंघको वैधानिक संरचनामार्फत खोज्ने परम्परा अवलम्बन गर्दै विवाद हल गरी तत्काल निर्वाचन प्रक्रियामा जान पनि उनीहरूले महासंघका अध्यक्षसहित केन्द्रीय समितिको ध्यानाकर्षण गराएका छन् ।

‘नेपाल पत्रकार महासंघका सदस्यहरूले गर्ने आन्तरिक लोकतन्त्रको अभ्यासमा समस्या देखिएको बहानामा सरकार र राजनीतिक दलहरूले गर्न सक्ने हस्तक्षेप र राख्न सक्ने प्रभावका सम्बन्धमा गम्भीर बन्न महासंघका सदस्यहरूमा हामी अपील गर्दछौं,’ वक्तव्यमा भनिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!