संगालोखबर

विराटनगर । रुसी सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या ३५ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार थप १० जनाको ज्यान गएसँगै मृत्यु हुनेको संख्या ३५ पुगेको हो । मृत्यु हुनेमा कोशी प्रदेशका चारजना छन् ।

Advertisement

धनकुटाका खगेन्द्र राइकामगर, इलामका गंगाराज मोक्तान, झापाका गंगाराज अधिकारी, र संखुवासभाका वीरबल राईले रुस–युक्रेन युद्धका क्रममा ज्यान गुमाएका हुन् । परराष्ट्र मन्त्रालयको असार १० गतेसम्मको तथ्यांकअनुसार मोरङका विकास राईसहित ६ जना युक्रेनी सेनाको कब्जामा रहेका छन् ।

मस्कोस्थित नेपाली दूतावासका अनुसार पछिल्लो समय मृत्यु हुनेमा रूपन्देहीका लालबहादुर बुढा, दोलखाका फुर्वा शेर्पा, स्याङ्जाका सुरज विक, धादिङका नेत्रबहादुर घर्ती, गुल्मीका शंकर दमाईं, लमजुङका साजन गुरुङ, दैलेखका तेजबहादुर शाही, सिन्धुलीका शान्तबहादुर भोलान, ठेगाना यकिन हुन बाँकी राजु थारू र घनश्याम परियार छन् ।

युद्धमा घाइते भएर ६ जना नेपाली उपचाररत् रहेको पनि दूतावासले जनाएको छ । सरकारी तथ्यांकअनुसार रुस–युक्रेन युद्धपछि नेपाल फर्कनेको संख्या १२८ पुगेको छ । सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैरकानुनी रूपमा नेपालीलाई सम्झौता गर्दै भर्ती गरिरहेको छ  ।

परराष्ट्र मन्त्रालयले रुस–युक्रेनको युद्धमा परेर मृत्यु हुने नेपालीका बारेमा सुरुआतमा प्रेस विज्ञप्ति निकालेर जानकारी दिए पनि पछिल्लो समय मृत्यु हुनेहरू सबैको नामावली सार्वजनिक गरेको छैन  ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत साता इरानको राजधानी तेहरानमा सम्पन्न भएको एसिया सहयोग संवाद (एडीसी) मा रुसी उपविदेशमन्त्री रुडेन्को आन्रेय युरेविचसँग भेटवार्ता गर्दा रुसी सेनामा भर्ती भएका नेपालीहरूको अवस्थाबारेमा कुरा उठाएका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले युद्धमा मृत्यु भएका नेपालीको शव नेपाल पठाइदिन, युद्धमा मृत्यु हुने नेपालीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन, घाइते भएका र रुसी सेनामा भर्ना भएकालाई फिर्ता पठाइदिन, नेपालीलाई रुसी सेनामा भर्ती नगर्न, भर्ती भएका नेपालीको संख्या नेपाल सरकारलाई जानकारी दिन अनुरोध गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!