संगालोखबर

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी शुक्रबारसम्म सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ढिलोमा शुक्रबारसम्म नतिजा प्रकाशन गर्ने जनाएको हो ।

Advertisement

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार देशभरबाट परीक्षण भएर आएका उत्तरपुस्तिकाको अंक रुजुसहित इन्ट्री गर्ने तथा अंकलाई ग्रेडिङमा रुपान्तरण गर्ने काम अन्तिम चरणमा रहेको जनाएका छन् ।

गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित परीक्षामा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी थिए । छात्रा २ लाख ५० हजार ७ सय ७२ जना थिए भने छात्र २ लाख ५३ हजार ६ सय २७ जना थिए । यस्तै, लैगिक अल्पसंख्यक परीक्षार्थी १५ थिए । १५ हजार ७ सय ४९ जना प्राविधिक धारतर्फका विद्यार्थी छन् ।

यसपटक नयाँ पाठ्यक्रमका आधारमा परीक्षा सञ्चालन भएको थियो । परीक्षार्थीको मूल्यांकनसमेत नयाँ ‘लेटरग्रेडिङ’ पद्धतिअनुसार हुनेछ । जसमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी नतिजामा ‘ननग्रेडिङ’ मा पर्नेछन् ।

दुई विषयसम्म ननग्रेडिङमा परे ग्रेडवृद्धि परीक्षा दिन पाइने र सोभन्दा बढीमा ननग्रेड भए अर्को वर्ष पुनः परीक्षा दिनुपर्ने व्यवस्था छ । उक्त पद्धतिअनुसार गत वर्षदेखि नै कक्षा १२ को नतिजा सार्वजनिक हुदैं आएको छ । त्यसमा परीक्षा दिएकामध्ये करिब ५० प्रतिशत विद्यार्थी मात्रै ग्रेडिङमा पर्दै आएका छन् । ग्रेडिङमा परेका विद्यार्थी मात्रै माथिल्लो कक्षामा भर्ना र पठनपाठन गर्न योग्य ठहरिन्छन् ।

यसअघि सैद्धान्तिक र प्रयोगात्मकतर्फको प्राप्ताङ्क जोडेर ३५ अंक लए विद्यार्थी ग्रेडसिट प्राप्त गर्थे । अबदेखि सैद्धान्तिक र प्रयोगात्मकको छुट्टाछुट्टै ग्रेडिङ हुने व्यवस्था गरिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!