संगालोखबर

विराटनगर । अफगानिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । विश्वकप क्रिकेटको सुपर आठअन्तर्गतको अन्तिम खेलमा बङ्गलादेशलाई डकवर्थ लुइस नियमका आधारमा ८ रनले हराउँदै अफगानिस्तान पहिलाे पटक सेमिफाइनलमा पुगेकाे हो । जीतका लागि १९ ओभरमा १ सय १४ रनकाे लक्ष्य पछ्याएकाे बङ्गलादेश १७ ओभर ५ बलमा १ सय ५ रन बनाउँदा अल आउट भयाे । बङ्गलादेशका लिटन दासले नट आउट ५४ रन बनाए । अफगानिस्तानका कप्तान राशिद खान र नवीन उल–हकले समान ४ विकेट लिए । यस्तै फजल फरूकी र गुलबदिन नइबले समान १ विकेट लिए ।

Advertisement

आजकाे खेलमा अफगानिस्तानका कप्तान राशिदले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटाे १ सय ५० विकेट लिने कीर्तिमान बनाएका छन् । राशिदले न्युजिल्यान्डका टिम साउदीलाई पछि पार्दै ९२ खेलमा १ सय ५२ विकेट लिएका छन् । साउदीले १ सय १७ खेलमा याे उपलब्धि हासिल गरेका थिए । साउदीले अहिलेसम्म १ सय २६ खेलमा १ सय ६४ विकेट लिएका छन् । यस्तै राशिद खान टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै ४ विकेट हल लिने खेलाडी पनि बनेका छन् । उनले आजकाे खेलमा सहित अहिलेसम्म ९ पटक ४ विकेट हल लिएका छन् । यस्तै बङ्गलादेशका शाकिब अल हसनले ८ र युगान्डाका हेनरी सेसेन्याेन्दाेले ७ पटक ४ विकेट हल लिएका छन् ।

यसअघि सेन्ट भिन्सेन्टमा टस जितेर ब्याटिङ गरेकाे अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १ सय १४ रन बनाएकाे थियाे । अफगानिस्तानका रहमनुल्लाह गुरबाजले सबैभन्दा धेरै ४३ रन बनाए । यस्तै रशिद खानले १० बलमा नट आउट १९ रन बनाए । बङ्गलादेशका रिशद हाेसेनले ३ विकेट लिए । अफगानिस्तानकाे पारीपछि पानी परेपछि अफगानिस्तानले डीएलएसमा १९ ओभरमा १ सय १४ रनकाे लक्ष्य पाएकाे थियाे ।

योसँगै टी–२० विश्वकपकाे सेमिफाइनल समीकरण पूरा भएकाे छ । यसअघि भारत, इङ्गल्यान्ड र दक्षिण अफ्रिका अन्तिम चारमा पुगिसकेका छन् । अब अफगानिस्तानले सेमिफाइनलमा पर्सि बिहान सवा छ बजे दक्षिण अफ्रिकासँग खेल्नेछ । यस्तै त्यही दिन बेलुका सवा ८ बजे अर्काे सेमिफाइनलमा भारत र इङ्गल्यान्ड खेल्नेछन् । अफगानिस्तानले बङ्गलादेशलाई हराएसँगै पूर्वविजेता अस्ट्रेलिया प्रतियाेगिताबाट बाहिरिएकाे छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!