विराटनगर । नेपालका तीनजना क्रिकेटरले क्यानाडामा हुने यसपटकको ग्लोबल टी–२० प्रतियोगितामा खेल्ने भएका छन् । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल, पूर्वकप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ग्लोबल टी–२० खेल्ने भएका हुन् ।
रोहितले ‘टोरन्टो नेशनल’ बाट खेल्ने जनाइएको छ। उनले पहिलोपटक ग्लोबल लिग खेल्न लागेका हुन् । यसैगरी, सन्दीप र दिपेन्द्रले एउटै टिमबाट खेल्ने भएका छन् । खेलका लागि उनीहरूलाई ‘भ्यान्कुभर नाइट्स’ ले अनुबन्ध गरेको हो ।
गत सिजनमा सन्दीप ‘सर्रे जागुअर्स’ र दीपेन्द्र ‘मोन्ट्रियल टाइगर्स’ बाट खेलेका थिए । अघिल्लो सिजनमा दीपेन्द्र सम्मिलित मोन्ट्रियल टाइगर्स’ ले उपाधि जितेको थियोे ।
यस सिजनको ग्लोबल टी–२० जुलाई २५ देखि अगस्ट ११ सम्म क्यानाडाको अन्टारियोमा हुँदैछ । यो ग्लोबल टी–२० को चौथो सिजन हो । यसअघि २०१८ मा भ्यान्कुभर नाइट्स, २०१९ मा विनिपेग ह्वाक्स र २०२३ मा मोन्ट्रियल टाइगर्सले उपाधि जितेका थिए ।