विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल प्रतियोगिताको उपाधि विराटनगरको मोडर्न एरा स्कुलले जितेको छ । विराटनगरको सहिद मैदानमा बिहिवार सम्पन्न फाइनलमा दिल्ली पब्लिक स्कुल (डीपीएस) लाई १–० गोलले हराउँदै मोडर्न एराले उपाधि जितेको हो ।
जितसंगै मोडर्न एराले २५ हजार रुपैयाँ र ट्रफी हात पारेको छ । उपविजेता डीपीएसले ११ हजार रुपैयाँमा चित्त बुझायो । जितका लागि मोडर्न एराका अमन माझीले खेलको ५५ औं मिनेटमा निर्णायक गोल गरे । प्रतियोगिताको तेस्रो टिम विराटनगर–१३ स्थित गोदावरी स्कुल भयो ।
मोडर्न एराका रोसित राई प्लेयर अफ द म्याच घोषित भए । बेस्ट मिट फिल्डर डीपीएसका जेनिल विष्ट, बेस्ट गोलकिपर मोडर्न एराका रोनक राजधामी, बेस्ट कोच मोडर्न एराका सन्दिप भट्टराई, बेस्ट फिल्डर मोडर्न एरौा अमन माझी, बेस्ट प्लेयर अफ द टुर्नामेन्ट डीपीएस स्कुलका आयुष सहनी घोषित भए । त्यसैगरी, इमर्जिङ प्लेयरमा सिद्धार्थ स्कुलका प्रवेश राई र हाइस्कोर डीपीएस स्कुलका इमोन खवास भए ।
विजेता हुने खेलाडीलाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेशकुमार दास, सल्लाहकार सावित्राकुमारी पराजुली, प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवाल, कोषाध्यक्ष विष्णु डंगोल, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, खेल संयोजक नन्दलाल मण्डल, नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्यीय रोहित कोइराला, कोबास कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठ लगायतले पुरस्कार बितरण गरेका थिए ।
प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगितामा विराटनगरका २२ वटा विद्यालयले भाग लिएका थिए । विद्यालय स्तरबाट फुटबल खेलको विकास गर्नुको साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको प्याब्सन विराटनगरका अध्यक्ष बुढाथोकीले जानकारी दिए ।