संगालोखबर

विराटनगर । ‘शत्रु’ नामको नाटक मञ्चन गर्दै विराटनगरमा आरोहण नाटक महोत्सव समापन भएको छ । हाटखोलास्थित गुरुकुलमा शनिबार शुरु भएको महोत्सवमा अन्तिम तथा छैठौं नाटकका रुपमा बुधबार कलालय इटहरीले विश्वेश्वरप्रसाद कोइरालाको कथामा आधारित नाटक मञ्चन गर्यो ।

Advertisement

सुगम दुलालको नाट्य रुपान्तर तथा प्रज्वल पराजुलीको निर्देशनमा तयार उक्त नाटकले एउटा व्यक्तिको मनोविज्ञानलाई देखाएको थियो । नकारात्मक तत्वहरुले मानिसको सकारात्मक मनस्थितिलाई कसरी बिगार्दै शत्रुताको विशाल आधार खडा गर्न सक्छ भन्ने कुरालाई नाटकमा प्रस्तुत गरिएको थियो ।

नाटकमा प्रज्वल दुलाल, आशीष पुरी, करण प्याकुरेल, नितीका घिमिरे लगायतको अभिनय थियो । यससँगै असार १ देखि शुरु भएको नाटक महोत्सव पनि सकिएको छ । आयोजक आरोहण गुरुकुल विराटनगरले ‘चौथो अध्याय’ मञ्चन गर्दै शुरु भएको महोत्सवमा दोस्रो दिन कदम थिएटरले ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’, तेस्रो दिन ह्वी क्यानले ‘स्कुल’ र पिस नेपालले ‘हेत्छाकुप्पा’ मञ्चन गरेका थिए ।

चौथो दिन गौरादह जेसीज तथा झोराहाट नाट्य समूहले ‘सुरुङ’ मञ्चन गरेका थिए । कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको अनुदान सहयोग तथा विराटनगर महानगरपालिकाको सहयोगमा भएको महोत्सवमा कोशी प्रदेशका कुल ६ वटा नाटक मञ्चन भए ।

कोशी प्रदेशका नाट्यकर्मी तथा साहित्यकारहरुको जमघट र आपसी सांस्कृतिक आदानप्रदान भएको महोत्सवले आगामी कार्यक्रम आयोजना गर्न हौसला मिलेको आरोहण विराटनगरका अध्यक्ष तथा महोत्सव निर्देशक भैरव क्षेत्रीले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!