संगालोखबर


विराटनगर । विराटनगरमा जारी नाटक महोत्सवको तेस्रो दिन सोमबार दुईवटा मञ्चन भएका छन् । हाटखोलास्थित गुरुकुलमा ‘ह्वी क्यान’ ले ‘स्कूल’ मञ्चन गरेको हो भने पिस नेपालले ‘हेत्छाकुप्पा’ मञ्चन गरेको हो ।

‘स्कूल’ले कलात्मक रुपमा सकारात्मक व्यंग्यसहित वर्तमान नेपालको शिक्षा प्रणाली देखाएको थियो । नवराज पराजुलीद्वारा लिखित तथा विकास बुढाथोकीद्वारा निर्देशित उक्त नाटकमा स्मृति चाम्लिङ राई, सदिक्षा पोखरेल, ओमप्रतिक चौधरी, सिकुम लिम्बु लगायतले अभिनय गरेका थिए ।

Advertisement

यस्तै, सोमबार मञ्चन गरिएको दोस्रो नाटक ‘हेत्छाकुप्पा’ ले पौराणिक कथालाई सुन्दर ढंगले पेश गरेको थियो । प्रवीण पुमा लिखित नाटकलाई सुमन कुइँकेलले निर्देशन गरेकी हुन् ।

नाटकमा दुई दिदीहरुले मरेको भनी छोडेका भाइ हेत्छाकुप्पाले महिला राक्षस चक्रङ्गदिमाको पासोबाट बाँच्न र समृद्ध हुन गरेका संघर्षलाई देखाइएको थियो । बुधबारसम्म चल्ने नाटक महोत्सवमा मंगलबार दिउँसो ३ बजे गौरादह जेसीज तथा झोराहाट नाट्य समूहको नाटक ‘सुरुङ’ मञ्चन हुनेछ ।

अन्तिम दिन दिउँसो ३ बजे कलालय इटहरीले ‘शत्रु’ नामको नाटक मञ्चन गर्ने जनाइएको छ । महोत्सवको पहिलो दिन आयोजकले ‘चौथो अध्याय’ मञ्चन गरेको थियो भने दोस्रो दिन कदम थिएटर दमकले जयमाया आफू मात्रै ‘लिखापानी आइपुगी’ मञ्चन गरेको थियो ।

कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको अनुदान सहयोग तथा विराटनगर महानगरपालिकाको सहयोगमा भएको महोत्सवमा कोशी प्रदेशका कुल ६ वटा नाटक मञ्चन हुँदैछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!