विराटनगर । ‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ ले आगामी मंसिरदेखि फेरि आन्दोलन गर्ने जनाएको छ । विभिन्न संगठनहरुका प्रतिनिधिको सहभागितामा ताप्लेजुङको फुङलिङमा भएको दुई दिने बैठकले यस्तो निर्णय गरेको हो । उक्त आन्दोलन निर्णायक हुने दाबी समेत ती संगठनले गरेका छन् ।

Advertisement

किरात याक्थुङ, नेपाल आदिवासी, पहिचान सहितको प्रदेश नम्बर १, किरात राई यायोक्खा, नेपाल शेर्पा संघ र पहिचान पक्षधर राजनीतिक दलका केन्द्रीय नेताहरुको उपस्थितिमा बैठक बसेको थियो ।

प्रदेश सरकार र सभाले हालसम्मको आन्दोलनलाई गम्भीरतापूर्वक नलिएको भन्दै अबको आन्दोलन निर्णायक हुने जनाइएको छ । आगमी मंसिर २ गते विराटनगरमा विशाल जनप्रदर्शन गरी आन्दोलन सुरु हुने किरात याक्थुङका अध्यक्ष प्रेम एक्तेनले बताए ।

बैठकको ११ बुँदे निर्णय सार्वजनिक गरेको छ । त्यसअनुसार किरात राई यायोक्खाका केन्द्रीय महासचिव अर्जुन जन्मेली राईले ‘कोशी’ नामकरण गर्दा भोट दिने ४२ प्रदेश सांसद र आन्दोलनरत संस्था तथा नेतृत्वलाई साम्प्रदायिक गाली गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले सचिव एवं सांसद योगेश भट्टराई र एमाले नेता महेश बस्नेतलाई दबाब दिन उनीहरुको परिवार तथा नातागोताहरुलाई अनुरोध गर्ने निर्णय गरिएको बताए ।

प्रदेश सरकारले कोशी नामका प्रस्तावक राम रानाकै नेतृत्वमा शान्ति टोली गठन गरेको भन्दै बैठकले यसलाई तथाकथितको संज्ञा दिएको छ । रानाको नेतृत्वमा गठित समितिप्रति खेद व्यक्त गरेको बैठकले निष्कर्षमा पुग्नेगरी वार्ता गर्ने, सकेसम्म बहुमत पुग्नेगरी अस्तित्वमा रहेका दलका नेतासहित मुख्यमन्त्रीको नेतृत्वमा मात्रै वार्ता गर्न सकिने बताएको छ ।

आन्दोलनका लागि रामभक्त कुरुम्बाङको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । इलाम–२ को उपचुनावबाट एकल जातिवादी सत्तालाई चुनौती दिएको र पहिचानको मुद्दालाई प्रतिपक्षीय विचार स्थापित गरेको र मत परिणामलाई सकारात्मक समीक्षा गरिएको सहभागीले जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!