संगालोखबर

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगिताको उपाधि वाइआरसीसी विराट ब्लास्टर्सले जितेको छ । विराटनगर महानगरपालिका– ६ नम्बर वडाको आयोजनामा आइतबार राति सम्पन्न भएको फाइनलमा एनबीएससी लायन्सलाई १० विकेटले हराउँदै वाइआरसीसीले उपाधि जितेको हो ।

Advertisement

जितसँगै वाइआरसीसीले ५ लाख रुपैयाँसहित ट्रफी पाएको छ । उपविजेता बनेको एनबीएससीले २ लाख रुपैयाँमा चित्त बुझायो । एनबीएससीले दिएको १०६ रनको लक्ष्य वाइआरसीसीले ८.१ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।

उपाधिका लागि वाइआरसीसीका ओपनर खेलाडी देव खनाले आक्रमक ब्याटिङ गरे । उनले २२ बलमा अर्धसतक पूरा गर्दै अविजित ५६ रनको योगदान दिए । उनले ३ छक्का र ७ चौका हिर्काए । विनोद खनालले २७ बलमा ४४ रन बनाए । उनले ४ छक्का र ३ चौका प्रहार गरे ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको एनबीएससीले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै १०५ रन बनाएको हो । जसमा सन्तोष कार्कीले ६ बलमा १६ रन बनाए । मिनाश थापाले १८ बलमा २४ रन पारी खेल्दा शुभ कंस्कर ७ बलमा १७ रन बनाए । भीम सार्कीले ३ बलमा १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

वाइआरसीसीका बलर भुलावान सहनीले २ विकेट, हेमन्त धामी, विपिन खत्री र रासिद खानले समान १–१ विकेट लिए । प्रतियोगिताको प्लेयर अफ द म्याच वाइआरसीसीका देव खनाल घोषित भए । एनबीएससीका सन्तोष कार्की प्लेयर अफ द सिरिज भए । प्रतियोगिताभरी २८८ रन बनाएका उनले नगद २५ हजार पुरस्कार पाए ।

विराटनगर प्यान्थर्स तेस्रो

प्रतियोगिताको तेस्रो विराटनगर प्यान्थर्स भएको छ । विराटनगरले विराटनगर स्पोर्टिङलाई ८६ रनले पराजित गरेको हो । जितसँगै विराटनगर प्यान्थर्सले १ लाख रुपैयाँ पाएको छ । चौथो भएको विराटनगर स्पोर्टिङले ५० हजार पायो । गत सोमबारदेखि सुरु भएको प्रतियोगितामा मुलुकका विभिन्न ७ वटा क्लबको सहभागिता थियो । विजेता हुने टिमलाई विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, विराटनगर ६ का वडाअध्यक्ष अक्षय सहनीलगायतले पुरस्कार वितरण गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!