संगालोखबर

विराटनगर । आज जेठ १९ गते । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पुगेको छ । झण्डै अढाइ दशक हुन लाग्दा पनि त्यो हत्याकाण्ड अझै रहस्यमय मानिन्छ ।

Advertisement

२०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो । उक्त दिनको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो ।

घटनामा राजपरिवारका केही सदस्य घाइते भएका थिए । घटनापछि सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश केशवप्रसाद उपाध्याय र तत्कालीन सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समिति बनाइएको थियो ।

उक्त समितिले अध्ययन र सम्बन्धित व्यक्तिहरुसँग सोधपुछ गरी प्रतिवेदन तयार पारेको थियो । समितिले घटनामा युवराज दीपेन्द्रलाई दोषी ठहर्याएको थियो । तर उक्त समितिको अपुष्ट तथ्यसहितको ठम्याइलाई सर्वसाधारणले अझै पत्याउन सकेका छैनन् ।

हत्याकाण्डका बेला प्रधानमन्त्री रहेका गिरिजाप्रसाद कोइरालाले उक्त काण्ड ‘ग्राण्ड डिजाइन’ अनुसार भएको पटकपटक बताएका थिए । तर उनले त्यसबारे विस्तृतमा कहिल्यै खुलाएनन् ।

त्यतिबेला दरबारसँग नजिक कतिपयले राष्ट्रसंघको प्रतिनिधित्वमा हत्याकाण्डबारे छानबिन गरिनुपर्ने सुझाव त्यसपछिका राजा ज्ञानेन्द्र शाहलाई दिएका थिए । तर उनीहरुको सुझाव कार्यान्वयन हुन सकेन ।

दरबार हत्याकाण्डबारे थुप्रै पुस्तक लेखिएका छन् । दरबारमै काम गर्ने सैनिकहरुले पनि आफ्नो अनुभव समेटेर पुस्तक प्रकाशित गरेका छन् । तर कुनैमा पनि दरबार हत्याकाण्डबारे विश्वासलाग्दो आधार प्रस्तुत गरेको पाइँदैन । कतिपयले दरबार हत्याकाण्डमा विदेशी जासुसी संस्थाहरुको संलग्नता रहेको पनि उल्लेख गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!