विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा विराटनगरको एनबीएससी लायन्स क्रिकेट क्लब विजयी भएको छ । एनबीएससी लायन्स क्लबले फूलबारी क्रिकेट क्बललाई ५० रनले हराउँदै विजयी भएको हो ।
एनबीएससी लायन्सले निर्धारित १० ओभरमा १ विकेट गुमाइ १५७ रन बनाएको हो । जसमा राहुल रोमाल्डले अर्धसतक कटाए । उनले २९ बलमा ८ छक्का र ४ चौका प्रहार गर्दै अविजित ७५ रन बनाए । सन्तोष कार्कीले २७ बलमा ६४ रनको योगदान दिए । उनले ७ छक्का र २ चौका हिर्काए । फूलबारीका एमडीले १ विकेट लिए ।
एनबीएससीले दिएको १५८ रनको विजय लक्ष्य पछ्याएको फूलबारीले निर्धारित १० ओभरमा ७ विकेट गुमाइ १०७ रन मात्रै बनायो । जसमा राजेश सिंहले १४ बलमा ४१ रन बनाए । दिपकराज जोशीले १८ बलमा २३ रन पारी खेल्दा भुवन कार्कीले १४ रन बनाए ।
एनबीएससीका बलर फिरदोज अन्सारी, सन्तोष कार्की र दिपेश कँडेलले समान २–२ विकेट लिए । प्लेर अफ द म्याच एनबीएससीका सन्तोष कार्की घोषित भए । दिवा रात्रीकालीन प्रतियोगिता सञ्चालनका लागि विराटनगर–६ बरमपुरामा १२ लाखको लागतमा बाँसको खम्बामा अस्थायी फ्लडलाईटको व्यवस्था गरिएको छ । विराटनगर ६ का वडाअध्यक्ष अक्षय सहनीका अनुसार विजेता टिमले ५ लाख, उपविजेताले २ लाख, तेस्रोले एकलाख र चौथो हुने टिमले ५० हजार पुरस्कार पाउने छ ।