विराटनगर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१–८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकले बहुमतले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको हो । सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका थिए ।
सभामुख घिमिरेले नेपालको संविधानको धारा ११९ बमोजिम जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–८२ को राजश्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने भएकाले सोही दिन १ बजे बस्नेगरी संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा उपस्थित हुन आग्रह गरे ।
संसदमा पहिलो पटक प्रमुख प्रतिपक्षीको अवरोधकाबीच नीति कार्यक्रम पारित भएको हो । कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाएर छानबिन गर्न माग गर्दै संसद अवरोध गर्दै आएको छ ।