काठमाडौं । सरकारले आजदेखि पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान सञ्चालन गर्दैछ । आजदेखि जेठ २६ गतेसम्म दुई हप्ता चल्ने अभियानको सबै तयारी पूरा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
आईपीभी खोप नेपालमा २०७१ असोज महिनादेखि शुरु भएको थियो । तर २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिका यो खोप लगाउन छुटेका थिए । अभियानमार्फत छुटेका ती बालबालिकालाई आईपीभी खोप दिन लागिएको हो । अहिले देशभरका १४ लाख ६२ हजारभन्दा धेरै बालबालिकालाई खोप दिने सरकारको लक्ष्य छ ।
पोलियो रोग पोलियो भाइरसबाट हुने एक सरुवा रोग हो । यो रोग लागेमा विभिन्न लक्षणसहित पक्षघात हुने र ज्यानैसमेत जान सक्छ । पोलियो विषाणुले मुख्य गरी साना बालबालिकालाई सङ्क्रमित बनाउने गर्छ । पोलियोको भाइरस घाँटी र आन्द्रामा हुन्छ । सङ्क्रमित एक व्यक्तिबाट अर्कोमा पनि फैलिन्छ ।
रोग लागिसकेपछि उपचार नभएकाले पोलियो रोगविरुद्धको खोप लगाउनु आवश्यक रहेको स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताएका छन् ।