विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा विजयी भएको छ । ह्युस्टन शहरमा रहेको प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेन्ससँग भएको खेलमा नेपाल ६ रनले विजयी भएको हो । नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको ह्युस्टनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४० रनमात्रै बनायो ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४६ रन बनाएको थियो । ह्युस्टनसँग नेपालले आज राति दोस्रो अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपालले विश्वकप खेल्ने देशसँग औपचारिक अभ्यास खेल्नेछ ।
नेपालले जेठ १४ क्यानडा र जेठ १७ गते अमेरिकासँग खेल्नेछ । टी–२० विश्वकप २०२४ मा नेपाल समूह डी मा छ । समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलङ्का, बङग्लादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ गते अमेरिकाको डालास र जेठ २९ गते श्रीलङ्कासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ ।
यस्तै, जेठ ३२ गते दक्षिण अफ्रिकासँग र असार २ गते बङग्लादेशसँग सेन्ट भिसेन्टमा खेल हुनेछ । अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् । टी–२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन् ।