- रबिन कटेल/संगालोखबर

धनकुटा, १९ भदौ । धनकुटा र तेह्रथुमका बिभिन्न सडक मर्मतको करिव अढाई करोड रकम भुक्तानी नगरी निर्माण कम्पनीका पदाधिकारी सम्पर्क बिहिन भएको भन्दै पीडितहरुले आन्दोलन थालेका छन ।

सडक मर्मतको जिम्मा लिएको काठमाडौं स्थित वाईपी कन्ट्रक्सन विरुद्ध पीडित पेटी ठेकेदार, कामदार, पेट्रोल पम्प सञ्चालक, होटल ब्यावसायी, ब्यापारी लगायतले संयुक्त रुपमा आन्दोलन सुरु गरेका हुन । रकम भुक्तानीको माग गर्दै उनीहरुले सिधुवा स्थित वाईपी कन्ट्रक्सनको फिल्ड कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन ।

सिधुवा स्थित वाईपी कन्ट्रक्सनको कार्यालयमा भेला भएका पीडितहरु ।  तस्वीर: रबिन कटेल/संगालोखबर

पीडितहरुले वाईपी कन्ट्रक्सनको डोजर, ट्रिपर लगायत करिव एक दर्जन सवारी साधन नियन्त्रणमा लिएका छन ।  निर्माण कम्पनीले छ महिना अघि देखि रकम भुक्तानी नदिदा करिव ५ सय कामदारसहित पेटी ठेकदार र सामान बिक्रेतासम्मको बिचल्ली भएको हो । उनीहरुले सिधुवामा पत्रकार सम्मेलन गरी न्याय दिलाईदिन आग्रह गरेका छन ।

वाईपी कन्ट्रक्सनले सिधुवा–शुक्रवारे, दारेगौडा–मारेककटहरे–लेगुवा र हिले–बसन्तपुर–म्याङलुङ सडक मर्मतको जिम्मा लिएको हो ।  उक्त सडक मर्मतका लागि ५ जना पेटी ठेकदार मार्फत करिव ५ सय कामदार परिचालित थिए । डोजर, ट्याक्टर, ट्रिपर लगायत साधन प्रयोग गरिएको थियो ।

कामदारको ज्याला, निर्माण कम्पनीका लागि खाद्यान्न खरिद र होटलमा खाना÷खाजा को रकम पनि उधारो छ । पेटी ठेकदार देखि किराना पसलेसम्म कसैलाई पनि पैसा नदिई निर्माण कम्पनीका पदाधिकारी सम्पर्क बिहिन भएपछि बिचल्लीमा परेका भन्दै पीडितहरुले आन्दोलन थालेका हुन ।

सिधुवा स्थित वाईपी कन्ट्रक्सनको कार्यालयमा गरिएको तालाबन्दी ।  तस्वीर: रबिन कटेल/संगालोखबर

छ महिना अघि देखि काम गरेको पैसा नदिई वाईपी कन्ट्रक्सनका प्रमुख राजु श्रेष्ठ लगायत कर्मचारीहरु सम्पर्क बिहिन भएपछि आफुहरुको बिचल्ली भएको पेटी ठेकेदार यम कुमार राईले बताए । यता पेटी ठेकदार राजेन्द्र घतानी, केशव श्रेष्ठ, भीम गुरुङ्ग र मित्र खड्काको गुनासो पनि उस्तै छ ।

कम्पनीसँगको समझदारीमा आफुहरुले कामदार लगाएर सडकको काम गरेको भएपनि कम्पनीले रकम भुक्तानी नदिदा विचल्ली भएको उनीहरुको गुनासो छ ।

‘आफुसँग भएको लगानी गर्यौ, वाँकी उधारोमा झण्डै अढाई करोडको काम गरेका छौ ।’ गुनासो पोख्दै पेटी ठेकदार राजेन्द्र घतानी भन्छन ‘कामदारदेखि सवैले पैसा मागिरहेका छन, कम्पनीका मान्छेले फोन उठाउँदैनन, हाम्रो त बिजोक भयो ।’ छ महिनासम्म काम गरेको ज्याला नपाउँदा कामदार पनि आक्रोशित छन ।

लाखौंको उधारो नउठ्दा आफुहरुको बेहाल भएको होटल ब्यावसायी र किराना पसलेको गुनासो छ । सडकको काममा प्रयोग गरिएका सवारी साधनलाई पनि पैसा दिईएको छैन ।  कामदारको मात्र २० लाख रुपैंया भन्दा बढी रकम भुक्तानी गर्न वाँकी रहेको पेटी ठेकदार केशव श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार वसन्तपुर, चित्रे, सिंधुवा, शुक्रवारे लगायत वजारका होटल तथा पसलमा मजदुरले खाना खाएको र निर्माण सामग्री लगेको झण्डै १५ लाख रुपैया तिर्न वाँकी छ ।

सिधुवा स्थित वाईपी कन्ट्रक्सनको कार्यालयमा भेला भएका पीडितहरु ।  तस्वीर: रबिन कटेल/संगालोखबर

मजदुर र निर्माण कम्पनीका कर्मचारीलाई खाना खुवाएको १ लाख १० हजार रुपैंया नउठ्दा होटलनै बन्द गर्नुपर्ने अवस्था आएको सिधुवाकी होटल ब्यावसायी पवित्रा भण्डारीको गुनासो छ ।

सडकको काममा सवारी प्रयोग गर्दा स्थानीय काफ्ले सप्लायर्सबाट उधारो लगिएको तेलको करिव २४ लाख रकम भुक्तानी नहुँदा तेल रित्तिएर पम्पनै बन्द गर्नु परेको सप्लायर्सका सञ्चालक चेतनाथ चापागाईले गुनासो गरे । ‘सडकको काम भईरहेको छ, पैसा आउँला भनेर उधारोमा तेल दिए ।’ पश्चाताप मान्दै चापागाई भन्छन ‘सवै तेल उधारोमा गएपछि अहिले पम्पमा तेल पनि रित्तियो, तेल ल्याउँन पैसा नहुँदा पम्प नै बन्द गरेर बसेको छु ।’

पेट्रोल पम्प बन्द हुँदा सो क्षेत्रका सवारी साधन सञ्चालनमा पनि समस्या भएको छ ।

निर्माको काम रोकिएर लथालिंग बनेको सिधुवा–शुक्रवारे सडक । तस्वीर: रबिन कटेल/संगालोखबर

निर्माण कम्पनीका पदाधिकारी सम्पर्क बिहिन भएर चौतफी समस्या सृजना भएपछि पीडितहरुले जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय लगायतमा पनि उजुरी दिएका छन ।

सडकको काम पनि अलपत्र हुँदा सो क्षेत्रमा सवारी सञ्चालनमा समस्या भएको छ । यता उक्त बिषयमा प्रतिक्रिया लिनका लागि वाईपी कन्ट्रक्सनका प्रमुख राजु श्रेष्ठसँग पटक–पटक सम्पर्क गर्दा पनि फोन उठेन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!