मोहन ढकाल/संगालोखबर

विराटनगर । अचाक्ली गर्मीका कारण जनजीवन प्रभावित भइरहेको बेला परेको पानीले विराटनगरबासीलाई राहत मिलेको छ । अर्काेतर्फ चिन्ता पनि थपिएको छ । सामान्य वर्षामै डुबानको समस्याले हैरान भएका विराटनगरबासीलाई यो वर्ष पनि के हुने हो भन्ने चिन्ता थपिएको हो ।

Advertisement

केही दिनअघि परेको सामान्य पानीले पनि केही क्षेत्रमा सामान्य डुबान भएको थियो । आज पनि बिहानैदेखि विराटनगरमा पानी परिरहेको छ । वर्षाका कारण विराटनगरका धेरैजसो स्थान जलमग्न भएका छन् ।

सिङ्घिया खोला छेउका बासिन्दा कटानको कारण विस्थापित हुनुपर्ने हो कि भन्ने पिरलोमा छन् । विराटनगर–८ बालगोपाल टोलकी लीलामाया भण्डारी भन्छिन्, ‘पानी पर्नासाथ निन्द्रा हराउँछ । २०७४ सालदेखि बर्षेनी खोलाले दुःख दिइरहेको छ । घर कटानमा पर्दा पानी पर्न थालेसँगै उठीबास हुने हो कि भन्ने चिन्ताले सताउँछ ।’

उनलाई पानी पर्नासाथ २०७८ साल कात्तिकमा आएको बाढीको झझल्को आउँछ । त्यो बेला सिङ्घिया खोलामा आएको बाढीले घर कटान गर्नुका साथै अन्नपात पनि बगाएको थियो । उनी भन्छिन्, ‘यस्तो हरेक वर्ष हुन्छ । रोकथामका लागि कुनै काम हुँदैन । अब २०८४ को चुनावको घोषणापत्रमा फेरि तटबन्धको एजेण्डा समेटिएला । आश्वासनले मात्र बाढी नरोकिँदो हरेछ ।’

सामान्य वर्षाले समेत घर डुबान हुने गरेको विराटनगर–१५ की शान्तीदेवी सोनार बताउँछिन् । भन्छिन्, ‘सामान्य पानी पर्दा पनि घर डुबान हुन्छ । यो सधैँको समस्या भएपनि अहिलेसम्म नाला निर्माण भएको छैन । पानी पर्दा सधैँ समस्या हुन्छ ।’

महानगरले डुबान नियन्त्रणका लागि प्रभावकारी काम नगरेका कारण सामान्य वर्षामा पनि महानगरबासीले समस्या भोग्न बाध्य हुनुपरेको विराटनगर–३ का दिवस कार्की बताउँछन् । नालामा पानीको निकास हुन नसक्दा सामान्य वर्षामै जलमग्न हुने गरेको उनले बताए । उनी भन्छन्, ‘पानीको उचित निकास नहुँदा सामान्य वर्षामै घर समेत डुबानमा पर्छन् । महानगरले नाला सफाइमा समेत ढिलाइ गर्नु र निकासको बाटो नहुनु मुख्य समस्या हो ।’

डुबान नियन्त्रणका लागि महानगरले केही नगरेको विराटनगर–१५ का महम्मद अफरोज खानको गुनासो छ । महानगरसँग आक्रोशित हुँदै खान भन्छन, ‘१–२ घण्टाको पानीले डुबान हुन्छ । झन् वर्षायाममा कस्तो होला हालत ? महानगरले यस विषयमा कहिले ध्यान दिने ? कि जनताले सँधै दुःख पाउनुपर्ने हो ?’ डुबान नियन्त्रणका लागि महानगरले विशेष योजना ल्याएर समयमा नै काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!