संगालोखबर

विराटनगर । कोशी प्रदेशको राजधानीसमेत रहेको विराटनगर महानगर बजारमा ट्राफिक व्यवस्थापनका लागि महानगरले फेरि पहल सुरु गरेको छ । ट्राफिकसँगै सिटीसफारी, फुटपाथलगायतको व्यवस्थापनका लागि महानगरले पहल सुरु गरेको हो ।

Advertisement

सरोकारवाला सबैको सहयोगमा विराटनगरको ट्राफिक व्यवस्थापनका लागि फेरि पहल सुरु गरिएको मेयर नागेश कोइरालाले बताएका छन् । यसका लागि आयोजित भेलामा सहभागीहरुले ट्राफिक व्यवस्थापनका विभिन्न सुझाव दिएका छन् ।

विगतमा महानगरले ट्राफिकचोक–जलजलाचोक, शनिमन्दिर–अस्पताल चोक, महावीर रोड, शनिमन्दिर रोडलगायतलाई पार्किङ निषेध गरेको थियो । सडकलाई पार्किङ निषेध गर्दा व्यापार व्यवसायमा मन्दी आएको भन्दै उद्योगी, व्यवसायी र व्यापारीले पार्किङ खोल्न आग्रह गर्दैै पटक–पटक महानगरको ध्यानाकर्षण गराएका थिए ।

व्यापारीको आग्रहपछि महानगरले पार्किङ निषेधको निर्णय तत्कालका लागि स्थगन गरेको थियो । ‘महानगरपालिकाले पार्किङ हटाएपछि पनि कुनै पनि व्यापारीले आफ्नो व्यापार बढ्यो भन्नुभएको छैन । अहिले पनि सटरहरू खाली देखिन्छन्,’ मेयर कोइरालाले भने, ‘व्यापार नभएको सडकलाई पार्किङ निषेध गरेर होइन भन्ने कुरा अब चाहिं व्यापारीहरुले बुझिसक्नु भयो जस्तो लाग्दछ । जबसम्म जोगबनी नाकामा कडाइ गरिँदैन तबसम्म यहाँको व्यापार फस्टाउँदैन । यो कुरा सबैले बुझ्नु जरुरी छ ।’

कार्यक्रममा नेपाल उद्योग परिसंघका कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडाले पार्किङ निषेधसँगै फुटपाथ नियन्त्रण गर्नुपर्ने सुझाव दिए । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले विराटनगरलाई व्यवस्थित बनाउन महानगरले गर्ने हरेक निर्णयमा साथ दिने प्रतिबद्धता जनाए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका देवकीनन्दन अग्रवालले निर्णय गरिसकेपछि पछि नहट्न महानगरलाई आग्रह गरे । विराट व्यापार संघका अध्यक्ष अंशु बञ्जाराले पहिलो चरणमा अस्पताल र मन्दिर छेउछाउलाई पार्किङ निषेध गर्नुपर्नेमा जोड दिए । उनले सिटी रिक्साका कारण दुर्घटना हुने गरेको भन्दै चालकलाई तालिम दिनु जरुरी रहेको औंल्याए ।

कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साह, मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की, सशस्त्र प्रहरीका एसपी विश्वबन्धु खड्का, यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका प्रमुख पाक्रम खाँ, रानी–विराटनगर–इटहरी–धरान सडक योजनाका इन्जिनियर शिवराम देवलगायतले प्रदेश राजधानी विराटनगरको ट्राफिक व्यवस्थापनमा सबैको सहयोग र सहकार्य जरुरी रहेको औंल्याएका थिए ।

कार्यक्रममा महानगर प्रहरीका प्रमुख राजन पौडेल र जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन न्यौपानेले ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र चुनौती समेटेर कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैबीच, सोही भेलाले विराटनगर वडा नम्बर ११ का अध्यक्ष तथा महानगरको यातायात व्यवस्थापन समितिका संयोजक तीर्थेद्र नेउपानेको नेतृत्वमा ट्राफिक व्यवस्थापनका लागि अध्ययन समिति गठन गरेको छ ।

समितिमा मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशी, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, विराट व्यापार संघका अध्यक्ष अंशु बञ्जारा, खुद्रा व्यापार संघका अध्यक्ष सञ्जयकुमार सिंह मण्डल छन् ।

यसैगरी समितिमा जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन न्यौपाने, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र यातायात कार्यालयका प्रतिनिधि रहनेछन् । समितिको सदस्यसचिवमा महानगर प्रहरीका प्रमुख राजन पौडेललाई तोकिएको छ ।

समितिले बुझाएको प्रतिवेदनका आधारमा विराटनगरको ट्राफिक व्यवस्थापनको निर्णय गरिने मेयर कोइरालाले बताए । अध्ययन प्रतिवेदन तयार पार्नका लागि समितिलाई १० दिनको समयसीमा तोकिएको छ । सिटीसफारी, फुटपाथलगायत समग्र ट्राफिक व्यवस्थापनमा देखिँदै आएका समस्याको दीर्घकालीन समाधानका लागि उपाय खोज्ने गरी सरोकारवालाको छलफल राखेर समिति निर्माण गरिएको मेयर कोइरालाले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!