संगालोखबर
कार्कीलाई मुख्यमन्त्री नियुक्त भएको पत्र दिदै प्रदेश प्रमुख खापुङ । तस्वीर: मोहन ढकाल/संगालोखबर

विराटनगर । झापा क्षेत्र नम्बर ५ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित हिक्मतकुमार कार्की कोशी प्रदेशको तेस्रो पटक मुख्यमन्त्री बन्न सफल भएका छन् । आजै प्रदेश प्रमुख पर्शुराम खापुङबाट नियुक्त उनले पद तथा गोपनीयताको शपथ ग्रहण पनि गरिसकेका छन् ।

यसअघि पनि दुई पटक मुख्यमन्त्री बनेका कार्कीले सत्ता राजनीतिमा देखिएको फेरबदल र दलीय गठबन्धन परिवर्तनका कारण पूरा अवधि काम गर्न भने पाएनन् ।

Advertisement

आज मुख्यमन्त्रीको शपथ ग्रहण गरेलगत्तै उनले दुईजना मन्त्री नियुक्त गरेका छन् । इलामबाट प्रतिनिधित्व गर्ने एमालेका राम राना र मोरङबाट प्रतिनिधित्व गर्ने माओवादीका गणेश उप्रेतीलाई उनले तत्कालका लागि बिना विभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गराएका छन् ।

अब फेरि पनि केन्द्रीय राजनीतिमा आउने फेरबदलका कारण उनले समय अघि नै सत्ता छाड्नुपर्छ वा बाँकी पूरै अवधि काम गर्न पाउँछन् भन्ने कुरा आगामी दिनले बताउने छ । अहिलेका लागि भने उनले छोटो समयमै तीन पटक मुख्यमन्त्री बन्ने ‘कीर्तिमान’ कायम गरेका छन् ।

२०२१ असोज ११ गते झापाको गौरादह नगरपालिका वडा नम्बर ३ मा पिता स्वर्गीय बमबहादुर कार्की र माता जानुकादेवी कार्कीको कोखबाट तेस्रो सन्तानका रुपमा कार्कीको जन्म भएको हो ।

उनको परिवारमा आमा, दाजु–भाउजु, श्रीमती, दुई छोरी र एक छोरा छन् । बाल्यकाल गौरादहमै बिताएका उनले एसएलसीसम्मको अध्ययन स्थानीय जनता माविमा गरेका थिए ।

विद्यालयमा अध्ययन गर्दैगर्दा अनेरास्ववियुमा संगठित भइ विद्यार्थी राजनीतिमा प्रवेश गरेका उनी पार्टीको सम्पर्कमा २०३६ सालतिर मात्रै आएका थिए ।

महेन्द्र बहुमुखी क्याम्पस, धरानमा आईएल अध्ययन गर्न २०४२ सालमा उनी धरान पुगे । आईएलको पहिलो ब्याचका रूपमा अध्ययन सकेर उच्च शिक्षाका निम्ति उनी नेपाल ल क्याम्पस, प्रदर्शनी मार्गमा भर्ना भए । उनले कानुनमा स्नातकोत्तर तह (एलएलएम) को अध्ययन पूरा गरेका छन् ।

अनेरास्ववियुको क्याम्पस प्रारम्भिक कमिटी, जिल्ला कमिटी काठमाडौँ, बागमती अञ्चल कमिटीको भूमिका निर्वाह गर्दै उनी २०५५ सालमा केन्द्रीय अध्यक्षको जिम्मेवारीमा थिए ।

उनी नेपाल ल क्याम्पसको स्ववियु सभापतिसमेत भएका थिए । २०७१ सालमा सम्पन्न भएको नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा प्रवेश गरेका उनी २०७३ सालसम्म मेची अञ्चल समन्वय कमिटीको इन्चार्ज बने ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा झापाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ५ (क) बाट प्रत्यक्ष निर्वाचित कार्की प्रदेश नम्बर १ को स्थापनाकालीन मन्त्री परिषदमा आन्तरिक मामिला तथा कानुन मन्त्री बने ।

उनले करिब ३ वर्ष ७ महिना आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा काम गरे । २०७९ साल मंसिर ४ गते सम्पन्न दोस्रो प्रदेश सभा निर्वाचनमा उनी पुनः सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भए ।

निर्वाचन परिणामपछि बनेको प्रदेश सभाबाट उनी २०७९ पुस २४ गते कोशी प्रदेशको चौथो मुख्यमन्त्री बनेका थिए । केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलपछि उनी २०८० जेठ १४ गते विश्वासको मत लिन नसकेपछि बर्खास्त भए ।

संविधानको धारा १६८ (३) बमोजिम २०८० भदौ २२ गते उनी पुनः मुख्यमन्त्री बने । विश्वासको मत लिने अवस्था नभएपछि असोज २० गते उनले राजीनामा दिएका थिए ।

केन्द्रीय राजनीतिक समीकरणमा आएको फेरबदलसँगै कार्की कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा तेस्रो पटक जिम्मेवारीमा आएका छन् ।

भिडियो रिपोर्ट…

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!