संगालोखबर


विराटनगर । आरोहण गुरुकुल विराटनगरमा वैशाख २८ र २९ गते वृहत् साहित्यिक कार्यक्रम ‘विराट वाङ्मय उत्सव’ हुने भएको छ । हाटखोलास्थित गुरुकुल परिसरमा कविता वाचनका साथै अनेक साहित्यिक तथा सामाजिक मुद्दाहरुमा छलफलसमेत गरिने भएको आयोजक आरोहण गुरुकुलले जनाएको छ ।

उत्सवको उद्घाटन २८ गते विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गर्ने तय भएको छ । उद्घाटनपछि उत्सवमा समेटिएका साहित्य र कलाका विभिन्न विधाका क्रियाकलाप हुनेछन् ।

Advertisement

त्यस क्रममा कवितामाथि बनाइएका चित्र प्रदर्शनी र कविता वाचनको कार्यक्रम राखिएको आरोहणले जनाएको छ । त्यस्तै, कता रुमलियो विराट विरासत, नेपाली भाषाको बहाव, मञ्चमा ‘म’, भोलि बास्ने कविः सम्झनामा कृष्णभूषण बल, नेपाली साहित्य सिर्जनाका नवीनतम् आयामहरु लगायत शीर्षकमा अन्तरक्रिया गरिनेछ ।

उत्सवको दोस्रो दिन मातृभाषी कविता वाचनसँगै राजनीति र साहित्यः साहित्यमा राजनीति, योगवाणी र योगमाया, आख्यानमा चरित्र निर्माणः परिकल्पना र प्रस्तुति, पात्र र लैङ्गिकता लगायत विषयमा छलफल हुनेछ ।

सोही दिन समकालीन रचना वाचन र गजल वाचन गर्दै कार्यक्रम समापन हुने गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए । उत्सवमा मुकुन्द प्रयास, विवश पोखरेल, देवान किराती, हाङ्युग अज्ञात, जसराज किराती, सीमा आभास लगायतको सहभागिता रहनेछ ।

कोशी प्रदेशका १४ वटै जिल्लाका कवि तथा साहित्यकारहरुको सहभागिता र रचना वाचनसँगै अन्य साहित्यिक–सामाजिक विषयमा छलफल गरी गर्न लागिएको यस्तो कार्यक्रम विराटनगरमा पहिलो भएको आयोजकको दाबी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!