एजेन्सी। भारतको मध्यप्रदेशमा एक किशोरले रेलको ट्र्याकमा आत्महत्या गरे। ११ कक्षामा अध्ययनरत सात्विक पाण्डे नामका ती किशोर रेलको ट्र्याकमा घुँडा टेकेर बसेका थिए। तीव्र गतिमा आएको रेलले उनको शरीर टुक्राटुक्रा पारिदियो।
सिसीटिभीमा कैद भएको यो घटना शनिबार रातिको हो। सात्विक बुबाआमाको एक्लो छोरा थिए। अभिभावकले उनलाई कुनै कुराको कमी हुन दिएका थिएनन्। तर एक्कासि आफ्नो छोराले आत्महत्या गरेको खबरले बुबाआमा छाँगाबाट खसेजस्तै भए।
आत्महत्या त विश्वभरमा दैनिक हजारौंले गर्छन्। तर सात्विकको आत्महत्याको कारण फरक छ, जसले अहिले विश्वभर त्रास फैलाइरहेको छ। प्रहरी अनुसन्धानबाट पत्ता लाग्यो उनले ‘ब्लु ह्वेल’ नामक सुसाइड गेमको टास्क (चुनौती) पूरा गर्न आत्महत्या गरेका हुन्।
के हो आत्मघाती ‘ब्लु ह्वेल’ गेम? ब्लु ह्वेल इन्टरनेटमा खेलिने एउटा खतरनाक आत्मघाती गेम हो। यसले अहिले विश्वभर त्रास फैलाइरहेको छ। यो गेम निश्चित श्रृंखलामा चल्छ। ५० दिनको यो गेम खेल्नेले अन्त्यमा आत्महत्या नै गर्छन्।
खेलाडीको सम्पूर्ण विवरण प्रारम्भिक फारममार्फत अनलाइनबाटै संकलन गरेर सुरु हुने गेममा विभिन्न टास्क दिइन्छ। जस्तो कि रातको समयमा उठेर डरलाग्दो फिल्म हेर्ने, हात चिरेर विभिन्न आकृति बनाउने, रातको समयमा एक्लै छतको छेउमा गएर उभिने आदि।
खेलाडीका लागि अन्तिम चुनौती हुन्छ, आत्महत्या। सात्विक सोही टास्क पूरा गर्न रेलको लिकमा घुँडा टेकेर बसेका थिए। सन २०१६ मा रुसमा ब्लु ह्वेल किशोर/किशोरीबीच निकै चर्चित भएपछि एक पत्रकारले यसबारे एक रिपोर्ट प्रकाशित गर्दै सबैको ध्यान आकर्षित गराए। ब्लु ह्वेलसँग जोडिएका कैयन किशोर/किशोरीले आत्महत्या गरिसकेका थिए। यो रिपोर्ट प्रकाशित भएपछि रुसभर खलबली मच्चियो।
त्यसपछि अनुसन्धान थालेको रसियन प्रहरीले ब्लु ह्वेल अनलाइन गेमको बारेमा पत्ता लगाउँदै त्यससँग सम्बद्ध एक व्यक्तिलाई गिरफ्तार गर्यो। अनुसन्धानका क्रममा ती व्यक्तिले १६ जना किशोर/किशोरीलाई आत्महत्या गर्न उक्साइसकेको पाइयो।
विशेषगरी टिनएजरलाई टार्गेट बनाउने अहिले यो गेमले अहिले विश्वभर आफ्नो प्रभाव विस्तार गरिसकेको छ। यो गेम दक्षिण एसियामा पनि आइसकेको सात्विकको आत्महत्याको घटनाले पुष्टि गर्छ।
सामान्य मानिसलाई कसरी पुर्याउँछ आत्महत्याको स्थितिमा? विकिपेडियाका अनुसार यो गेममा सहभागीलाई दैनिक एउटा टास्क दिइन्छ, जुन पूरा गर्नैपर्ने हुन्छ। यस्तो टास्कको श्रृंखला सामान्यतया ५० दिनमा पूरा हुन्छ।
अर्थात ५०औं दिनमा आत्महत्या। टाक्स सामान्यबाट सुरु भएर जटिलतातर्फ अघि बढ्छ। जस्तो कि सुरुमा घरमा कोही नउठ्दै बिहान ४ बजे उठ्ने, मध्यरातमा उठेर डरलाग्दा फिल्म तथा भिडियो हेर्ने, व्यवस्थापकले पठाएका त्यस्तै संगीत सुन्ने, बायाँ हातमा ब्लेडले चिरेर कुनै वाक्याशं वा चित्र बनाउने, पुल वा छतको छेउमा गएर एक्लै उभिने, सुइले आफ्नो हात वा खुट्टामा घोच्ने आदि।
यी टास्कहरु पूरा गरेँ भनेर मात्र पुग्दैन, सहभागीले त्यसको प्रमाण भिडियो वा तस्बिरमार्फत पठाउनु पर्ने हुन्छ। यो गेमले ४९औं दिनसम्म यस्ता विचित्रका टास्क पूरा गराउँदै सहभागीलाई मानसिक रुपमा नै कमजोर बनाइसकेको हुन्छ।
त्यसपछि अन्त्यमा छतबाट हामफाल्ने, सडकमा कुदिरहेको गाडीअगाडि जाने, रेलको लिकमा गएर बस्नेलगायतका आत्मघाती टास्क दिइन्छ।
पहिले आफूले पूरा गर्दै आएका टास्कजस्तै सोचेर पूरा गर्न लालायित हुने किशोर/किशोरी आफैँले आत्महत्या गर्दैछु भन्नेसमेत पत्तो पाउँदैनन्।
यो आत्मघाती गेमबाट रुस, भेनेजुएला, उरुग्वे, अमेरिका, स्पेन, सर्भिया, साउदी अरेबिया, पोर्चुगल,पराग्वे,केन्या,इटाली,भारत,चीन,कोलम्बिया, चिली, अर्जेन्टिना, बुल्गेरिया लगायतका देशमा कैयन किशोर/किशोरीले आत्महत्या गरिसकेका छन्। तपाईँ पनि आफ्ना छोराछोरी इन्टरनेटमा के गर्दैछन् निगरानी गर्ने गर्नुहोस्, फेरि यस्तै आत्मघाती गेमको फन्दामा पर्लान् नि!